काठमाडौं। राष्ट्रिय सभाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पारित गरेको छ। सोमबार बसेको सभाको बैठकले ती अध्यादेशहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सभाले प्रस्तावमाथि छलफलपछि कुनै विरोध नआएपछि अध्यादेशहरू अनुमोदन गरेको हो।
स्वीकृत अध्यादेशहरूमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ रहेका छन्।
सरकारले निर्वाचनलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न कानुनी आधार मजबुत बनाउन अध्यादेशमार्फत संशोधन गरेको जनाएको छ। विशेष गरी मतदाता नामावली अद्यावधिक, निर्वाचन व्यवस्थापन र सुरक्षा संयन्त्रलाई थप स्पष्ट र सक्षम बनाउने उद्देश्यले अध्यादेश ल्याइएको सरकारको भनाइ छ।
अन्तरिम सरकारले जारी गरेका यी अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित भएसँगै निर्वाचनसम्बन्धी कानुनी प्रक्रिया कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सरकारले तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया