काठमाडाैं । मोरङको रंगेली नगरपालिकामा एक दम्पतीको मृत्यु भएको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घर पुगेर पत्नीको हत्या गरेपछि आफैंले पनि ज्यान गुमाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मण्डल सोमबार साँझ रंगेली–५ धनपट्टीस्थित ससुराली पुगेका थिए। त्यही क्रममा घरेलु विवाद बढ्दा उनकी पत्नी करिब २१ वर्षीया अम्बिकाकुमारी मण्डलको मृत्यु भएको पाइएको छ।
प्रहरीका अनुसार घटनापछि मुकेशकुमार मण्डल पनि गम्भीर अवस्थामा फेला परेका थिए र उपचारपूर्व नै उनको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानले दुवै जनाको मृत्यु आपसी विवादसँग सम्बन्धित रहेको संकेत गरेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया अघि बढाएको छ। घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए। अनुसन्धान पूरा भएपछि मात्रै घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया