काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्वपूर्ण व्यापारिक सम्झौता सम्पन्न भएको छ। दुवै नेताबीच भएको टेलिफोन वार्तापछि सम्झौता टुंगिएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले भारतसँग व्यापार सम्झौता भएको उल्लेख गर्दै यसअन्तर्गत भारतमाथि यसअघि घोषणा गरिएको २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) घटाएर १८ प्रतिशतमा झार्ने सहमति भएको बताएका छन्।
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकासँगको व्यापार सम्झौता सम्पन्न भएकोमा आफू अत्यन्तै प्रसन्न भएको प्रतिक्रिया दिएका छन्।
यस सम्झौतासँगै भारतले रुसबाट तेल खरिद बन्द गर्ने सहमति गरेको दाबी अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका छन्। उनका अनुसार प्रधानमन्त्री मोदीले अब अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट बढी मात्रामा तेल खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।
ट्रम्पले मोदीको अनुरोधमा तत्कालै व्यापार सम्झौतामा सहमति गरिएको उल्लेख गर्दै सम्झौताअनुसार अमेरिकी पक्षले भारतबाट आयात हुने वस्तुमा भन्सार शुल्क घटाउने र भारतले आफ्ना भन्सार तथा गैर–भन्सार अवरोधहरू शून्यमा झार्ने बताएका छन्।
सम्झौताअनुसार भारतले ऊर्जा, प्रविधि, कृषि, कोइला उत्पादनलगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तु खरिद गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताएका छन्।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया