काठमाडौं । जापानको तल्लो सदन (प्रतिनिधि सभा) का लागि आइतबार आम निर्वाचनको मतदान सुरु भएको छ। निर्वाचनलाई प्रधानमन्त्री साने ताकाइचीको राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ। जनमत सर्वेक्षणहरूले उनको नेतृत्वमा रहेको गठबन्धनले भारी बहुमत हासिल गर्ने अनुमान गरे पनि देशका धेरै भागमा परेको भारी हिमपातले मतदाताको सहभागितामा असर पार्ने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमानअनुसार केही क्षेत्रमा २७ देखि २८ इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा मतदान केन्द्रसम्म पुग्न मतदातालाई कठिनाइ हुन सक्ने बताइएको छ।

advertisement

अक्टोबरमा पदभार ग्रहण गरेकी ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री हुन्। जनमत सर्वेक्षण अनुसार उनको रूढिवादी गठबन्धन—लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र जापान इनोभेसन पार्टी—ले संसदको तल्लो सदनका ४६५ सिटमध्ये ३०० भन्दा बढी सिट जित्न सक्ने देखिएको छ।

हाल गठबन्धनसँग २३३ सिट रहेका छन्। यदि ३१० सिट जितेमा गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गर्नेछ, जसले माथिल्लो सदनमा विपक्षीको प्रभाव रहे पनि महत्वपूर्ण कानून पारित गर्न सहज बनाउनेछ। ताकाइचीले गठबन्धनले बहुमत गुमाएमा आफू पदबाट राजीनामा दिने स्पष्ट पारेकी छिन्।

प्रधानमन्त्री ताकाइची चीनप्रति कडा नीति, सैन्य खर्च वृद्धी तथा आर्थिक सुधारका कार्यक्रमका कारण चर्चामा छिन्। उनले बढ्दो मुद्रास्फीतिबाट जनतालाई राहत दिन खाद्य वस्तुमा लाग्ने ८ प्रतिशत बिक्री कर दुई वर्षका लागि निलम्बन गर्ने घोषणा गरेकी छिन्। साथै कर कटौती र आर्थिक प्याकेजमार्फत अर्थतन्त्र चलायमान बनाउने योजना अघि सारेकी छन्।

रणनीतिक परामर्श संस्था एफजीएस ग्लोबलका प्रबन्ध निर्देशक सेइजी इनाडाका अनुसार, ‘यदि ताकाइचीले ठूलो जित हासिल गरिन् भने कर कटौतीजस्ता महत्त्वपूर्ण आर्थिक निर्णयहरू कार्यान्वयन गर्न उनलाई पर्याप्त स्वतन्त्रता हुनेछ।’

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई खुला समर्थन जनाएका छन्। फेब्रुअरी ५ मा सामाजिक सञ्जालमार्फत ट्रम्पले ताकाइचीलाई बलियो, शक्तिशाली र बुद्धिमान नेता भन्दै जापानका जनतालाई निराश नपार्ने विश्वास व्यक्त गरेका थिए।

ट्रम्पले मार्च १९, २०२६ मा ह्वाइट हाउसमा ताकाइचीसँग भेट गर्ने घोषणा पनि गरेका छन्। जापानको फेब्रुअरी ८, २०२६ मा हुने निर्वाचनभन्दा दुई दिनअघि आएको यो समर्थनलाई असामान्य मानिएको छ। यो पहिलो पटक हो जब कुनै बहालवाला अमेरिकी राष्ट्रपतिले जापानी नेताको पक्षमा खुला रूपमा समर्थन व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com