काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रियसभाको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछिन्। संसद् सचिवालयका अनुसार, बैठक मध्याह्न सवा १२ बजे बस्नेछ र सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा समावेश छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहाल ले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नेछिन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा ले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गर्न प्रस्ताव पेस गर्ने कार्यसूचीमा रहेको छ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्र को विवरण सभालाई जानकारी गराउनेछन्।
साथै, राष्ट्रपति रामचन्द्र पौडेल बाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि सभामा प्रस्तुत गरिनेछ। राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन्।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया