सिन्धुली। जबरजस्ती करणीको आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार पक्राउ परेपछि लामो समयदेखि न्यायको प्रतीक्षामा रहेकी १७ वर्षीया पीडित किशोरीमा आशा जागेको छ।
प्रहरीका अनुसार नगरप्रमुख अधिकारी मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। गत वैशाखमा ती किशोरीले अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी परेपछि उनी फरार रहेका थिए।
उजुरीअनुसार १७ वर्षकै उमेरमा किशोरी जबरजस्ती करणीको सिकार भएकी थिइन्। घटनापछि उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी बताइएको छ। शिशु जन्मिएपछि मात्रै घटना बाहिर आएको परिवारजनले जनाएका छन्।
पीडितले दुधौली नगरपालिकाभित्रकै एक होटलमा काम गर्ने क्रममा आफूमाथि जबरजस्ती करणी भएको उजुरीमा उल्लेख गरेकी छन्। आर्थिक तथा सामाजिक दबाबका कारण सुरुमा चुप लाग्नुपरेको परिवारको भनाइ छ।
नगरप्रमुख पक्राउ परेपछि कानुनी प्रक्रिया अगाडि बढ्ने र न्याय प्राप्त हुने अपेक्षा पीडित पक्षले व्यक्त गरेको छ। अभिभावकहरूले ढिलो भए पनि कानुन सक्रिय भएको भन्दै अब निष्पक्ष छानबिन र न्यायको आशा राखेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
मुलुकी अपराध संहिता, २०७४ अनुसार १८ वर्षमुनिका बालिकामाथि जबरजस्ती करणी गम्भीर अपराध मानिन्छ र दोषी प्रमाणित भए कडा सजायको व्यवस्था रहेको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया