काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठक बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको र प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मुलुकवासीका नाममा पठाइएको सन्देश स्वागतयोग्य र समर्थनयोग्य भएको निर्णय गरेको छ। सन्देशमा उल्लेख भए अनुसार ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति वा खिचातानी नहोस्’ भन्ने विचारलाई राप्रपा मुलुकको यथार्थ र जनताको चाहनासँग मेल खाने ठानेको छ।
बैठकले वर्तमान राजनीतिक परिस्थिति हेरेर सर्वपक्षीय सम्मेलनको आवश्यकता औँल्याउँदै नविन समझदारी कायम गर्ने पक्षमा आफ्नो दृढ समर्थन दोहोर्याएको छ। बैठकपछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्दै विभिन्न राजनीतिक दलसँग विचारविमर्श गर्दै आएको जनाएको छ।
साथै बैठकले चुनावी अभियानका क्रममा आम जनतालाई उच्च मनोबलका साथ जागरुक तुल्याउँदै सर्वपक्षीय समझदारीका लागि दबाब दिने रणनीति अपनाउने निर्णय गरेको छ। बैठकमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र काठमाडौंस्थित अन्य केन्द्रीय पदाधिकारीहरू उपस्थित थिए।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया