काठमाडौँ । रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले दलीय राजनीतिबाट तत्कालका लागि अलग रहने घोषणा गर्दै स्वतन्त्र रूपमा आफ्नो राजनीतिक विचार र अडान व्यक्त गरिरहने बताएका छन्।
शुक्रबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा मिश्रले आफूले लिएको निर्णय निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको बताएका छन्। उनले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि उक्त जनमतलाई संगठित र प्रभावकारी रूपमा उपयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बारम्बार असफल भएको उल्लेख गरेका छन्।
पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको स्वीकार गर्दै उनले आजैदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन्।
मिश्रले राजसंस्था पुनर्स्थापना, सुशासन तथा राष्ट्रिय पुनरुत्थानका मुद्दामा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन्। उनले अब केही समय गैरदलीय अर्थात् स्वतन्त्र हैसियतमा आफ्ना विचार र राजनीतिक दृष्टिकोण सार्वजनिक गर्दै जाने बताएका छन्।
गत नौ वर्षको राजनीतिक यात्रामा आफूले राष्ट्रिय रूपान्तरणका लागि इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गर्दै उनले त्यो प्रयास अझै पर्याप्त नभएको स्वीकार गरेका छन्। साथै उनले ‘देशभन्दा माथि स्वार्थ’लाई कहिल्यै राखेर कुनै काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग गर्ने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।
यसैबीच उनले हालैको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएका छन्।
नेपाली राजनीति ‘प्रचण्डपथ’मा आँखा छोपिएको घोडा जस्तै एकोहोरो दौडिरहेको उल्लेख गर्दै उनले देशको राजनीति तातो तावाबाट भुङ्ग्रोमा नपरोस् भन्ने कामना पनि गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया