काठमाडौं। मध्यपूर्वमा चर्किँदै गएको अमेरिका–इरान सैन्य तनावले केवल क्षेत्रीय राजनीति मात्र होइन, विश्व शक्ति सन्तुलनकै दिशा बदल्न सक्ने संकेत देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकातिर युद्ध छिट्टै सकिने दाबी गरिरहेका छन्, अर्कोतिर अमेरिकी सेना भने नयाँ–नयाँ लक्ष्य सूची तयार गर्दै आक्रमण विस्तारको तयारीमा देखिन्छ।
यही विरोधाभासलाई लिएर अन्तर्राष्ट्रिय विश्लेषकहरू एउटा प्रश्न उठाइरहेका छन–के ट्रम्प वास्तवमै युद्ध जित्न चाहन्छन्, कि सुरक्षित रूपमा बाहिरिने बाटो खोजिरहेका छन् ? हामीले सीएनएन र अलजजिराका पछिल्ला विश्लेषणहरू हेर्दा ट्रम्प युद्धबाट बाहिरिने जुक्ति खोजिरहेका छन् भने इरान धैर्य साथ युद्ध लम्ब्याउन समेत तयार देखिन्छ ।
सीएनएनका अनुसार ट्रम्प प्रशासनभित्र नै युद्धको लक्ष्यबारे स्पष्ट सहमति देखिएको छैन। केही अधिकारीहरू सीमित सैन्य कारबाहीमार्फत इरानलाई दबाबमा पारेर वार्तामा ल्याउन चाहन्छन्। तर अर्को समूह इरानको सैन्य संरचना र क्षेत्रीय प्रभावलाई गहिरो चोट पु¥याउनुपर्ने पक्षमा छ।
ट्रम्पका सार्वजनिक वक्तव्य पनि यिनै दुई धारबीच डगमगाएको देखिन्छ। कहिले उनी निर्णायक प्रहारको कुरा गर्छन्, कहिले लामो युद्ध चाहिँदैन भन्छन्। यो स्थिति धेरै हदसम्म अमेरिकी घरेलु राजनीतिसँग जोडिएको छ।
मध्यपूर्वमा लामो युद्ध अमेरिकी जनताका लागि अत्यन्त अलोकप्रिय विषय बनेको इतिहास छ,इराक र अफगानिस्तान युद्ध यसको उदाहरण हुन् । त्यसैले विश्लेषकहरू भन्छन्–ट्रम्पले शक्ति प्रदर्शन गर्दै कूटनीतिक निकास खोज्ने रणनीति अपनाइरहेका हुन सक्छन्।
इरानको रणनीतिः सीधा भिडन्त होइन, ‘क्षेत्रीय दबाब’
अलजजिराका विश्लेषणहरू अनुसार इरानले अमेरिका जस्तो शक्तिसँग प्रत्यक्ष युद्धमा उत्रिने रणनीति अपनाएको देखिँदैन। बरु उसले अप्रत्यक्ष दबाबको रणनीति रोजेको संकेत देखिन्छ।
यो रणनीति तीन तहमा देखिन्छ।
पहिलो, क्षेत्रीय नेटवर्क,
मध्यपूर्वभर इरानसँग जोडिएका विभिन्न समूह र मिलिसिया सक्रिय छन्। यिनीहरू मार्फत अमेरिकी अड्डा, ऊर्जा पूर्वाधार वा सहयोगी देशहरूलाई दबाबमा राख्ने प्रयास देखिन्छ।
दोस्रो, ऊर्जा बजारमा प्रभाव।
खाडी क्षेत्र विश्वको प्रमुख तेल आपूर्ति केन्द्र हो। यहाँ अस्थिरता बढ्दा तेल मूल्य ह्वात्तै बढ्छ। यो अवस्था लामो समय रह्यो भने अमेरिकी अर्थतन्त्र मात्र होइन, विश्व अर्थतन्त्रमा पनि असर पर्छ। अर्कोतर्फ विश्वकै चासो जोडिएको तेलमार्ग हर्मुज बन्द गर्ने इरानको रणनीतिले रुस र चीन समेत अमेरिकामाथि दबाब बढाउँदैछन् । हर्मुज बन्द गरे ठूलो आक्रमण गर्ने ट्रम्पको चेतावनी पनि त्यसैको संकेत हो ।
तेस्रो, धैर्यको खेल।
इरानले आफूलाई तत्काल निर्णायक युद्धभन्दा पनि दीर्घकालीन दबाबको खेलमा राख्न खोजेको देखिन्छ। विश्लेषकहरूका अनुसार इरानको रणनीति सरल छ–अमेरिकालाई महँगो, जटिल र अलोकप्रिय युद्धमा अल्झाइराख्ने तर सिधा भिडन्तको अवस्था आउन पनि नदिने ।
अमेरिकाका लागि जोखिम किन बढ्दैछ ?
सीएनएनका सुरक्षा विश्लेषकहरू भन्छन्, मध्यपूर्वमा युद्ध सुरु गर्नु सजिलो हुन्छ, तर अन्त्य गर्न अत्यन्त गाह्रो।
अमेरिकाका लागि तीन ठूला जोखिम देखिन्छन्।
पहिलो, सैन्य विस्तार,
यदि खाडीका अमेरिकी अड्डाहरू वा सहयोगी देशहरू प्रत्यक्ष रूपमा आक्रमणमा परे भने अमेरिका थप सैन्य शक्ति प्रयोग गर्न बाध्य हुनेछ ।
दोस्रो, ऊर्जा संकट
तेल आपूर्ति अवरुद्ध भए विश्व बजारमा ठूलो आर्थिक संकट आउन सक्छ, जसको असर अमेरिकी अर्थतन्त्रमा पनि पर्छ ।
तेस्रो, राजनीतिक दबाब,
लामो युद्धले अमेरिकी जनमतमा असन्तोष बढाउन सक्छ। यही कारण धेरै विश्लेषकहरू ट्रम्प प्रशासन युद्ध विस्तारभन्दा नियन्त्रित संघर्षमा सीमित रहन खोजिरहेको मान्छन्।
युद्धको सम्भावित दिशा
हालको घटनाक्रम हेर्दा यो युद्ध तत्काल निर्णायक नतिजामा पुग्ने सम्भावना कम देखिन्छ । बरु यो सीमित सैन्य कारबाही, क्षेत्रीय तनाव र कूटनीतिक दबाबको मिश्रण बन्ने सम्भावना बढी देखिन्छ ।
ट्रम्प प्रशासनका लागि चुनौती स्पष्ट छ,शक्ति प्रदर्शन गरेर कमजोर नदेखिने, तर युद्धलाई नियन्त्रणबाहिर जान नदिने। इरानका लागि पनि चुनौती त्यत्तिकै छ—
अमेरिकालाई दबाबमा राख्ने, तर पूर्ण युद्ध निम्त्याउने सीमा ननाघ्ने।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया