काठमाडौं। नेपाल आयल निगमले मध्यपूर्वमा बढ्दै गएको तनावका कारण ग्यास अभाव समाधान गर्न घरायसी उपभोक्ता लाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
निगमले जारी गरेको निर्देशनअनुसार होटल तथा व्यावसायिक प्रयोजनभन्दा पहिले सर्वसाधारण घरधुरीलाई खाना पकाउने एलपी ग्यास उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।
निगमले उद्योगीलाई पनि आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउन र दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास आपूर्ति गरियो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको छ ।
ग्यास बिक्रेताहरूले पनि प्रत्येक उपभोक्ताको फोन नम्बरसहित अभिलेख अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको छुट्टै रेकर्ड राख्नुपर्ने र होटल/रेस्टुरेन्टलाई ग्यास बिक्री गर्दा घरायसी उपभोक्ता को अभाव नहोस् भन्ने सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
मध्यपूर्वको युद्ध तथा तनावका कारण आयात प्रभावित हुँदा बजारमा ग्यास अभाव चुलिएको छ । निगमले यो निर्देशनमार्फत् कालोबजारी तथा अभावलाई नियन्त्रण गर्ने र सर्वसाधारणलाई राहत दिने प्रयास गरेको बताएको छ ।
यसअघि पनि २०७२ सालको नाकाबन्दीका बेला निगमले आधा सिलिन्डर (७.१ केजी) मात्र भरेर बिक्री गर्ने व्यवस्था लागू गरेको थियो । अहिले पनि अभाव गहिरिएमा त्यस्तै अस्थायी व्यवस्था गर्न सकिने संकेत निगमले गरेको छ ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया