काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं रौतहट १ का उम्मेदवार माधवकुमार नेपालले शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्री बनाउनेमा ढुक्क भएको बताएका छन्।
उनले आफ्नो जितप्रति ढुक्क नभएकाले रौतहट नछाडेको भन्नु कुप्रचार मात्र भएको पनि बताए ।
‘रौतहट मेरो जन्मधर्ती हो । यहाँका जनताले मप्रति सदैव प्रेम र सद्भाव राख्ने गरेका छन् । असल व्यक्तिका रुपमा चिनेका छन् । माधव नेपाललाई रौतहटको अर्को नामको रुपमा लिएका छन् । जनताले ढुक्क हुनोस् भनेका छन् । तैपनि चुनावलाई हल्का रुपमा लिनुहुँदैन । जनताले समय मागेपछि दिनुपर्छ भनेर रौतहटमै बसेको छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने ।
माधव नेपाल रौतहटमा धेरै व्यस्त हुनुभयो, अन्य निर्वाचन क्षेत्रमा घुम्नुभएको छैन भनिन्छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र म एकै दिनमा दुई प्रदेशमा भ्याउने गरी सातै प्रदेशमा पुग्यौं । रौतहटमा आइसकेपछि अन्यत्र जान समय लाग्छ भनेर यतै बसिरहेको छु ।’
रौतहट मात्र नभएर मधेस प्रदेशको विकासमा आफ्नो भूमिका रहेको पनि नेता नेपालले औंल्याए । उनले भने, ‘चन्द्रनिगाहपुरबाट गौर, वीरगन्जबाट कलैया आउँदा जस्तो चिल्ला बाटो अन्यत्र कहाँ छ ? यहाँजस्तो स्वास्थ्य चौकी, अस्पताल, विद्यालय भवन कहाँ बनेका छन् ? बागमती र बकैयामा तटबन्धन कसले बनायो ? नर्सिङ कलेज, पोलिटेक्निकल इन्स्टिच्युट कसले ल्यायो ? सुनकोसी-मरिण-कमला डाइभर्सन कसले ल्यायो ? निजगढ एयरपोर्ट र फास्ट ट्रयाक कसले ल्यायो ?’
तपाईंले फ्री भिसा, फ्री टिकट भनेर जनतालाई ढाँट्नुभयो भन्ने केपी शर्मा ओलीको आरोप छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘सरकारले फ्री भिसा, फ्री टिकटमा विदेश पठाइरहेकै छ । यसबाट के पुष्टि भयो भने केपी ओली पैसा लिएर मात्र पठाउँदा रहेछन् । उनी कमिसनखोर संरक्षक हुन् । लुटेरा जमातका नाइके हुन् । जनतालाई चुसेर लुटेर खान चाहन्छन् । सचेत बनाउन चाहँदैनन् । केपी ओली सबभन्दा ठूला मिटर ब्याजी हुन् । त्यो त उनको आम्दानीको स्रोत रहेछ । माधव नेपालले अब पोल खोल्ने भयो भनेर उनलाई पोलेको पोल्यै छ ।’
नेता नेपालले लाइभ कार्यक्रममै श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरलाई फोन गरेर यसबारे जानकारी पनि लिए । मन्त्री कुँवरले इन्टरनेसनल म्यानपावरमार्फत फ्री भिसा, फ्री टिकट मात्र नभएर पासपोर्टको पैसा, घरबाट काठमाडौं आउँदाको भाडा, खाना र बस्नको पैसा लिएर वैदेशिक रोजगारीमा जान पाउनेको संख्या ६ सय नाघेको बताए ।
प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया