काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा जारी सुनुवाइ अब बिहीबार टुंगिने भएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाई सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राख्न स्वीकृति दिएकी थिइन्। उक्त निर्णय उनले लामिछानेमाथि राजनीतिक प्रतिशोध गरिएको भन्ने दाबी तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ लाई आधार बनाएर लिएकी थिइन्।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते जारी गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ अनुसार लामिछानेमाथि केवल सहकारी ठगी सम्बन्धी मुद्दा मात्र अघि बढाउन र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको थियो।
यो निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको कारण सुनुवाइ हुन सकेको थिएन। तर, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन पेस गरेका छैनन्।
यसअघि समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ। – सम्पादक
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया