काठमाडौं । कम्बोडिया मा अलपत्र परेका २० नेपाली नागरिकको उद्धार गरिएको छ। रोजगारीको प्रलोभनमा परी त्यहाँ पुगेका उनीहरू विभिन्न गैरकानुनी गतिविधिमा फसाइएका थिए।
उनीहरू बुधबार कम्बोडियाबाट उडेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेका छन्।
उद्धार कार्य गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाली दूतावास बैंककले कम्बोडिया सरकारको सहयोगमा सम्पन्न गरेको हो।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र, ठगी गर्ने क्यासिनो तथा अन्य अवैध काममा संलग्न गराइएको थियो। साथै, उनीहरू मध्ये धेरैजना बिना भिसा त्यहाँ बसिरहेका थिए।
उद्धार गरिएका व्यक्तिहरूको पहिचान सार्वजनिक गरिएको छैन।
यसैबीच, कम्बोडियामा अझै केही नेपाली अलपत्र रहेको सूचना प्राप्त भएको दूतावासले जनाएको छ। उनीहरूको उद्धारका लागि आवश्यक पहल भइरहेको पनि जानकारी दिइएको छ।
दूतावासले कम्बोडियामा समस्यामा परेका नेपालीहरूलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ।
पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना पुगेका छन्।
दूतावासले कुनै पनि प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र थाइल्याण्ड, लाओस, म्यानमार लगायतका देशहरूमा जान आग्रह गरेको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया