काठमाडौं । कोलम्बिया मा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडा का अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए ।
अमेरिकी कम्पनी लकहिड मार्टिन द्वारा निर्मित सी–१३० हर्कुलस सैन्य ढुवानी विमान पुटुमायो प्रान्त अन्तर्गत प्यूर्टो लेगुइजामो नजिकै उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो ।
घटनास्थलमा खटिएका आपतकालीन उद्धार टोलीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
रक्षामन्त्री पेड्रो सान्चेज ले उक्त विमान “सैनिकहरू बोकेर उडान भर्ने क्रममा भएको दुखद दुर्घटना” भएको बताएका छन् । उनका अनुसार दुर्घटनापछि विमानमा आगो लाग्दा बोकेको गोला–बारुद विस्फोट भएको थियो ।
सैन्य स्रोतहरूका अनुसार मृतकमध्ये ५८ जना सैनिक, ६ जना वायुसेनाका कर्मचारी र २ जना प्रहरी अधिकारी रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Reuters र AFP ले पनि मृतक संख्या ६६ पुगेको पुष्टि गरेका छन् ।
यो दुर्घटना कोलम्बियाली वायुसेनाको हालैको इतिहासकै सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा दुर्घटनास्थलबाट धुवाँको मुस्लो उठिरहेको तथा सैनिक बोकेका सवारी साधनहरू घटनास्थलतर्फ गइरहेको देखिन्छ । केही भिडियोमा स्थानीय बासिन्दाहरूले मोटरसाइकलमार्फत घाइतेहरूलाई अस्पताल पुर्याएको दृश्य पनि देखिएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रो ले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो दुर्घटना “हुन नहुने” बताएका छन् । उनले सशस्त्र बलका उपकरण र विमानको आधुनिकीकरणमा ढिलाइ हुनुमा प्रशासनिक जटिलतालाई जिम्मेवार ठहर गर्दै अब थप ढिलाइ हुन नदिने बताएका छन् ।
यसअघि गत महिना बोलिभिया मा पनि सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया