काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ ।
युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज दोहोरो छलफल हुन लागेको हो ।
पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतले यसअघि यो मुद्दामा तीन पटक फाइल मगाएको थियो ।
२०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयबाट निर्णयको कारण प्राप्त भएपछि अब दोहोरो सुनुवाइ हुन लागेको हो ।
रिटमा पौडेलले लामिछाने अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरेको कार्य राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीत भएको जिकिर गरेका छन् ।
उनले महान्यायाधिवक्ताले आपराधिक मनसाय नभएको भन्दै निर्णय गर्नु दुराग्रही र क्षेत्राधिकार बाहिरको भएको दाबी गरेका छन् ।
यसैगरी, लामिछानेले उक्त राहदानी कुन–कुन समयमा र कुन प्रयोजनका लागि प्रयोग गरे भन्ने विवरण अध्यागमन विभागबाट झिकाउनुपर्ने माग पनि रिटमा गरिएको छ ।
पौडेलले दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।
यसअघि सर्वोच्चले भने अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यो राहदानी दुरुपयोगसम्बन्धी मुद्दा को फैसलाले रवि लामिछानेको राजनीतिक भविष्यमा समेत प्रभाव पार्ने देखिन्छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया