काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। सोमबार गरिएको उक्त निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
गृहमन्त्री गुरुङलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।
प्रहरी प्रधान कार्यालयको निरीक्षण पछि आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे।
उनले आगामी दिनमा थप आत्मविश्वासका साथ जिम्मेवारी बहन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
साथै, प्रहरीले आफ्नो काम गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पारे।
गृहमन्त्री गुरुङले समाजमा प्रहरीप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्नेमा जोड दिए।
उनले शिष्ट बोली, व्यवहार र जिम्मेवार सेवामार्फत नागरिकका समस्या समाधान गर्नुपर्ने बताए।
उनले आमनागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग नागरिक सेवामा गर्नुपर्नेमा जोड दिए।
विपद् व्यवस्थापनमा प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले आवश्यक साधनस्रोत र तालिमको व्यवस्था गरिने बताए।
प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन र वैज्ञानिक प्रणालीका आधारमा गरिने उल्लेख गर्दै गृहमन्त्री गुरुङले संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र स्रोतसाधन सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद नेपाल प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गरे। उनले प्रहरीको व्यावसायिकता र क्षमताले कठिन परिस्थितिमा पनि उत्कृष्ट कार्यसम्पादन सम्भव भएको बताए।
गृहसचिव श्रेष्ठले समयानुकूल कार्यशैली अपनाउँदै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले संविधान र कानुनले दिएको अधिकारको दायराभित्र रही मानवअधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै काम गर्दै आएको बताए।
उनले प्रहरीको दक्षताले राज्यको प्रभावकारिता र नागरिकको विश्वास बढाउने उल्लेख गरे।
उनले प्रहरी संगठनभित्र जनशक्तिको क्षमता, दक्षता र मनोबल अभिवृद्धिका लागि निरन्तर प्रयास भइरहेको पनि जानकारी दिए।
कार्यक्रममा प्रहरीको हालसम्मको कार्यसम्पादनबारे गृहमन्त्रीलाई विस्तृत जानकारी गराइएको थियो।
यसै क्रममा गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयमा रहेको डाटा सेन्टरलगायतका संरचनाको अवलोकनसमेत गरेका थिए।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया