काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार समानुपातिकतर्फबाट सांसद बनेकी सरस्वती लामालाई उम्मेदवार बनाउने योजना अघि सारिएको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका हुनुपर्ने प्रावधान छ। अहिले सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहेकाले उपसभामुख अन्य दलबाट चयन हुनुपर्ने अवस्था बनेको हो।
रास्वपाले ठूला दलहरूलाई समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग सक्रिय संवाद अघि बढाएका छन्। यसैक्रममा रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच समेत छलफल भएको बताइएको छ।
राप्रपाका एक शीर्ष नेताका अनुसार, ‘आज पनि रास्वपासँग कुराकानी भएको छ। समर्थन गर्ने सकारात्मक संकेत प्राप्त भएको छ। अब पार्टीभित्र छलफल गरेर अन्तिम निर्णयमा पुग्छौँ।’
उपसभामुख पदका लागि पहिलोपटक संसद्मा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि मनोनयन फारम लिएको छ। तर उक्त दलले सुरुदेखि नै रास्वपामाथि वैचारिक रूपमा कडा प्रश्न उठाउँदै आएको छ। यही कारण रास्वपाले श्रमसंस्कृति पार्टीभन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया