काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसिरहेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। चैत ३० र वैशाख १ गते गरिएको उद्धार अभियानमार्फत उनीहरूलाई नेपाल ल्याइएको हो।
दूतावासका अनुसार विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका ती नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने ठगी गतिविधि तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका थिए। साथै, उनीहरू धेरैजसो बिनाभिसा वा भिसाको म्याद नाघिसकेपछि त्यहाँ बस्दै आएका थिए।
दूतावासले कम्बोडियामा अझै समस्यामा परेका नेपालीहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको पनि जनाएको छ। ‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायतका गैरकानुनी गतिविधिमा जबरजस्ती लगाइएको र धेरैजसो अवैध रूपमा बसिरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले उल्लेख गरेको छ।
कम्बोडियाको पर्यटन तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना पुगेका छन्।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया