काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ। कच्चा पदार्थको मूल्यमा उल्लेख्य वृद्धि र ढुवानी खर्च बढ्दै जाँदा पुरानै दरमा उद्योग सञ्चालन सम्भव नभएको भन्दै महासंघले मूल्य समायोजन गर्नुपरेको जनाएको हो।
महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा पानी उत्पादनमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्यापलगायतका कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको उल्लेख गरेको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागतमा समेत ठूलो असर परेको जनाइएको छ।
महासंघका अनुसार पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थितिहरू—विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्ध—का कारण विश्व बजार तथा आपूर्ति प्रणालीमा आएको अस्थिरताले नेपाली पानी उद्योगहरूमा समेत प्रत्यक्ष प्रभाव पारेको छ।
विज्ञप्तिमा भनिएको छ कि मूल्य समायोजन नाफामूलक उद्देश्यले नभई बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको महँगीका कारण उत्पन्न बाध्यताका कारण गरिएको हो। उद्योगको दिगोपन सुनिश्चित गर्दै गुणस्तर कायम राख्न र नियमित आपूर्ति गर्न लागतअनुसार मूल्य समायोजन अपरिहार्य भएको महासंघको ठहर छ।
साथै महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, आवश्यक कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी खर्च नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक तथा सरोकारवाला पक्षलाई परिस्थिति बुझेर सहयोग गर्न अपिल गरिएको छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया