मुस्ताङको उपल्लो क्षेत्रमा युरेनियम र ‘रेयर अर्थ मिनरल्स’ को प्रचुर सम्भावना रहेको चर्चाले पछिल्लो समय नेपाली राजनीति र कूटनीतिमा ठूलो तरंग पैदा गरेको छ। विभिन्न समयमा भएका भूगर्भीय अध्ययनहरूले लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको भू-भागमा युरेनियमको भण्डार हुन सक्ने संकेत गरेका छन्। यद्यपि, मुस्ताङमा यी खनिजहरू वास्तवमै व्यावसायिक उत्खनन योग्य मात्रामा छन् वा छैनन् भन्ने कुरा अझै पूर्ण रूपमा प्रमाणित भइसकेको छैन। यदि मुस्ताङमा यथेष्ट मात्रामा रेयर अर्थ मिनरल्स वा युरेनियम फेला परेको कुरा वैज्ञानिक रूपमा सत्य सावित भयो भने, यसले नेपाललाई विश्व भू-राजनीतिको एउटा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील केन्द्रविन्दु बनाउने निश्चित छ। आधुनिक विश्वका उच्च प्रविधि, स्मार्टफोन, विद्युतीय सवारी साधन देखि लिएर अत्याधुनिक हतियार निर्माणसम्ममा यी खनिजहरूको अनिवार्य प्रयोग हुने भएकाले यसको विश्वव्यापी माग निकै उच्च छ।
यो विषय केवल आर्थिक लाभको मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा र सामरिक महत्वसँग पनि गहिरो गरी जोडिएको छ। यदि मुस्ताङमा यी बहुमूल्य खनिजहरू भेटिए, तिनको पारदर्शी खोजतलास र राज्यको स्पष्ट एवं दूरदर्शी धारणा सार्वजनिक हुनु अपरिहार्य छ। दशकौ अघिदेखि यसको सम्भाव्यताको चर्चा चल्दै आए पनि, हाल अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको यस क्षेत्रप्रतिको बढ्दो चासोले यसलाई थप रहस्यमय र सामरिक रूपमा संवेदनशील बनाएको छ। चीनको तिब्बतसँग सीमा जोडिएको र भौगोलिक रूपमा विकट यो क्षेत्रमा विदेशीहरूको अस्वभाविक चासो बढ्दा नेपालको ऐतिहासिक ‘असंलग्न परराष्ट्र नीति’ माथि नै गम्भीर चुनौती थपिने देखिन्छ। यस्तो अवस्थामा सरकारले नागरिकलाई यथार्थ जानकारी दिदै यसलाई ‘भू-राजनीतिक पासो’ बन्न नदिई राष्ट्रको ‘आर्थिक समृद्धि’को बलियो आधार बनाउन सक्नुपर्छ। युरेनियम र रेयर अर्थको व्यवस्थित उत्खननले नेपालको वैदेशिक ऋण घटाउनुका साथै विश्व शक्ति सन्तुलनमा नेपाललाई एक निर्णायक मध्यस्थकर्ताको भूमिकामा स्थापित गर्न सक्ने सम्भावना पनि उत्तिकै बलियो छ।
शक्ति राष्ट्रहरूको सामरिक प्रतिस्पर्धा र मुस्ताङको संवेदनशीलता
मुस्ताङमा खनिज भण्डार फेला पर्नु भनेको विश्वको आपूर्ति सञ्जालमा अभूतपूर्व फेरबदल आउनु हो। हाल विश्वको करिब ७०-८०% रेयर अर्थ खनिजको आपूर्ति चीनले गर्दै आएको छ, जसमा पश्चिमा देशहरूको ठूलो र बाध्यकारी निर्भरता रहेको छ। यदि मुस्ताङमा यसको व्यावसायिक भण्डार भेटियो भने, यो पश्चिमा देशहरू विशेष गरी अमेरिकाका लागि चीन माथिको निर्भरता घटाउने ठूलो अवसर बन्नेछ। यसले गर्दा मुस्ताङ क्षेत्र केवल खानी उत्खननको साधारण केन्द्र मात्र नभई विश्वका ठूला शक्ति राष्ट्रहरूको ‘प्रोक्सी’ प्रतिस्पर्धाको मुख्य थलो बन्ने गम्भीर जोखिम रहन्छ। चीनले आफ्नो सुरक्षा संवेदनशीलता र तिब्बतसँगको भौगोलिक निकटताका कारण यहाँ पश्चिमा उपस्थिति वा प्रभावलाई सहजै स्वीकार नगर्ने स्पष्ट छ, जसले गर्दा नेपालले निकै सचेत र सन्तुलित पाइला चाल्नुपर्ने देखिन्छ।
यस खनिजको दोहनले नेपाललाई ‘रिसोर्स कर्स’ अर्थात् ‘संसाधनको सराप’ तर्फ धकेल्न सक्ने खतरा पनि उत्तिकै छ। यदि नेपालले आफ्नो आन्तरिक सुरक्षा व्यवस्था र बाह्य कूटनीतिक सम्बन्धलाई सन्तुलित राख्न सकेन भने मुस्ताङ क्षेत्र अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरूको अखडा बन्न सक्ने डर रहन्छ। खनिजको सुरक्षा, खोजतलास र उत्खनन प्रक्रियामा नेपाली सेनाको प्रत्यक्ष संलग्नता, निगरानी र नियन्त्रण अनिवार्य छ। रणनीतिक दबाबलाई कम गर्न नेपालले आफ्ना छिमेकीहरू र शक्ति राष्ट्रहरूलाई विश्वासमा लिएर मात्र अगाडि बढ्नुपर्छ। मुस्ताङको ऐतिहासिक र सांस्कृतिक संवेदनशीलतालाई बुझेर त्यहाँको जनजीवन, वातावरण र राष्ट्रिय सार्वभौमिकतामा कुनै पनि आँच नआउने गरी ‘खनिज कूटनीति’ को सुझबुझपूर्ण विकास गर्नु आजको राष्ट्रिय आवश्यकता हो।
खनिज पदार्थको उत्खनन गर्दा नेपालले आफ्नो असंलग्नताको सिद्धान्तलाई कदापि भुल्नु हुँदैन। एकातिर चीन र भारत जस्ता विशाल छिमेकीहरूको सुरक्षा र सामरिक चासो अनि अर्कोतिर आधुनिक प्रविधि र लगानीको आवश्यकताका बीच नेपालले दुई उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने एक ‘सजीव आर्थिक सेतु’ का रूपमा स्थापित गर्नुपर्छ। टाढाको शक्ति राष्ट्रको प्रविधिको चाहनालाई छिमेकीको सुरक्षा संवेदनशीलतासँग सन्तुलन मिलाउँदै, नेपालले आफ्नो भू-परिवेश र ‘ल्याण्ड-लिङ्क्ड’ अवस्थितिलाई राष्ट्रिय हितका लागि एक रणनीतिक अवसरको रूपमा प्रयोग गर्नुपर्छ। मुस्ताङ जस्तो संवेदनशील क्षेत्रमा हुने कुनै पनि उत्खनन कार्यमा छिमेकीहरूको विश्वास र सहभागितालाई सुनिश्चित गर्दै नेपालले एक परिपक्व कूटनीतिक भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो यस क्षेत्रमा हुने हरेक सानो–ठूलो गतिविधिले नेपालको आन्तरिक राजनीतिलाई मात्र नभई समग्र क्षेत्रीय शान्तिलाई समेत प्रत्यक्ष असर गर्ने हुनाले यसलाई आर्थिक विकासको अवसरसँगै गम्भीर सुरक्षा चुनौतीको रूपमा विश्लेषण गरिनुपर्छ। सरकारले यहाँको स्रोतलाई कुनै एक पक्षको मात्र पोल्टामा सुम्पिने गल्ती नगरी, बहुपक्षीय र राष्ट्रिय स्वार्थ अनुकूलको सन्तुलित नीति अवलम्बन गर्नु नै नेपालका लागि सर्वथा श्रेयस्कर हुनेछ।
उत्खननका साझेदार र प्रविधिको छनोट: रणनीतिक विकल्पहरू
नेपालसँग युरेनियम वा रेयर अर्थ जस्ता जटिल खनिजहरू उत्खनन र प्रशोधन गर्ने आफ्नै अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति अहिलेको अवस्थामा छैन। यसका लागि पर्याप्त वैदेशिक लगानी र प्रविधि हस्तान्तरण अनिवार्य छ। अमेरिका सहितका पश्चिमा मुलुकहरूसँग यी खनिजहरू प्रशोधन गर्ने उच्च स्तरको प्रविधि उपलब्ध छ। उनीहरू चीनको बजार एकाधिकार तोड्न चाहन्छन्, त्यसैले नेपालले उनीहरूसँग ‘टेक्नोलोजी ट्रान्सफर’ को सर्तमा सहकार्यको ढोका खोल्न सक्छ। तर, यस्तो सहकार्य गर्दा सिधै खानीको स्वामित्व विदेशी कम्पनीलाई सुम्पिनुको साटो ‘जोइन्ट भेन्चर’ अर्थात् संयुक्त लगानीको मोडेलमा जानु सबैभन्दा उपयुक्त हुन्छ, जहाँ नेपालको निर्णयक भूमिका र सेयर हिस्सा सुरक्षित रहन सकोस्।
अर्कोतर्फ, चीनसँग यो क्षेत्रको भूगोलको गहिरो बुझाइ र विश्वको सबैभन्दा ठूलो बजार अनुभव छ। मुस्ताङको धरातलीय र भौगोलिक अवस्था तिब्बतसँग निकै मिल्दोजुल्दो भएकाले पूर्वाधार विकास र यातायात सहजताका लागि चीन एक भरपर्दो र नजिकको साझेदार हुन सक्छ। उत्तरी छिमेकीको सुरक्षा चासोलाई सम्मान गर्दै सीमित र नियन्त्रित रूपमा चीनको अनुभवलाई उपयोग गर्नु नेपालको कूटनीतिक हितमा हुन्छ। त्यस्तै, दक्षिणतर्फको छिमेकी भारत, जो नेपालको सबैभन्दा ठूलो ऊर्जा र व्यापारिक साझेदार हो, उसलाई पनि यस प्रक्रियामा उचित तवरले समावेश गराउनु पर्छ। रेयर अर्थ खनिज प्रशोधनका लागि आवश्यक पर्ने ठूलो मात्राको विद्युत आपूर्ति र व्यापारिक मार्गका लागि भारतसँगको सहकार्य नेपालका लागि अपरिहार्य देखिन्छ।
त्यसैले, कुनै एउटा शक्ति राष्ट्रलाई मात्र काखा र अर्कोलाई पाखा लगाउनु नेपालका लागि घातक हुन सक्छ। बरु नेपालले ‘ग्लोबल टेन्डर’ मार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनु नै उत्तम विकल्प हो। जसमा अमेरिकाको आधुनिक प्रविधि, चीनको निर्माण अनुभव र भारतको बजार पहुँचलाई जोड्ने गरी सन्तुलित सम्झौता गर्नुपर्छ। नेपालले कच्चा पदार्थ मात्र निर्यात गर्ने पुरानो र घाटाको नीति सदाका लागि त्याग्नुपर्छ। जसले नेपालमै प्रशोधन केन्द्र स्थापना गर्न र नेपाली प्राविधिकहरूलाई तालिम दिन तयार हुन्छ, उसैलाई प्राथमिकता दिने स्पष्ट नीति हुनुपर्छ। यसले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै खनिजको मूल्य अभिवृद्धिमा मद्दत पुर्याउँछ र दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्छ।
व्यवस्थापनको मार्गचित्र र राष्ट्रिय खनिज नीति
मुस्ताङको खनिज व्यवस्थापनका लागि सबैभन्दा पहिले नेपालले एक ‘शक्तिशाली राष्ट्रिय खनिज निगम’ स्थापना गर्नुपर्छ। यो निगममा राज्यको मुख्य वा कम्तीमा ५१ प्रतिशत लगानी हुनुपर्छ र यसले मात्र विदेशी कम्पनीहरूसँग सम्झौता गर्ने अधिकार राख्नुपर्छ। हचुवाका भरमा निजी वा विदेशी कम्पनीलाई खानी सुम्पिदा राष्ट्रिय हितमा ठूलो आँच पुग्न सक्छ। खनिजको खोजतलास र उत्खनन प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन एक उच्चस्तरीय ‘खनिज कूटनीति कार्यदल’ गठन गरिनुपर्छ, जसमा सुरक्षा विज्ञ, कूटनीतिज्ञ र अनुभवी भूगर्भविद्हरूको सहभागिता अनिवार्य हुनुपर्छ। यस कार्यदलले विदेशी लगानीका सर्तहरूलाई राष्ट्रिय स्वार्थको कसीमा राखेर मात्र स्वीकृत गर्नेछ र जनमानसको संशय मेटाउने कार्य गर्नेछ।
व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष भनेको त्यहाँको वातावरण र स्थानीय समुदायको संरक्षण हो। मुस्ताङ एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिएको पवित्र क्षेत्र हो। खनिज उत्खननका नाममा त्यहाँको जैविक विविधता र मौलिक संस्कृति कुनै पनि हालतमा नष्ट हुनु हुँदैन। उत्खननबाट प्राप्त हुने राजस्वको निश्चित हिस्सा मुस्ताङकै स्थानीय विकास र त्यहाँका बासिन्दाको जीवनस्तर उकास्न खर्च गरिनुपर्छ। वातावरण प्रभाव मूल्यांकनलाई अत्यन्तै कडाइका साथ पालना गराउँदै ‘ग्रिन माइनिङ’ को आधुनिक अवधारणामा काम गर्नुपर्छ। यसले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि एक जिम्मेवार र वातावरणीय सचेत राष्ट्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
अन्ततः, मुस्ताङको सम्भावित खनिज व्यवस्थापनलाई नेपालले आफ्नो ‘आर्थिक कूटनीति’ को मुख्य हतियार बनाउनु पर्छ। खनिज निर्यातबाट प्राप्त हुने ठूलो आम्दानीलाई देशको ऋण तिर्न, ठूला पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरी देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ। यसका लागि नेपालका सबै राजनीतिक दलहरू बीच न्यूनतम राष्ट्रिय सहमति हुनु आवश्यक छ। राष्ट्रिय महत्वको यस्तो गम्भीर विषयमा दलगत स्वार्थ भन्दा माथि उठेर दीर्घकालीन सोचका साथ अगाडि बढ्नु पर्छ। यदि हामीले स्पष्ट कानुनी र नीतिगत ढाँचा तयार पारेर संयमताका साथ अगाडि बढ्यौ भने मुस्ताङको माटो मुनि लुकेको यो सम्भावित सम्पत्ति भविष्यमा नेपालको भाग्य बदल्ने ‘कालो सुन’ सावित हुनेछ।
निष्कर्षमा, मुस्ताङमा युरेनियम र रेयर अर्थ मिनरल्सको सम्भावित उपस्थिति नेपालका लागि प्रकृतिले दिएको एक असाधारण र रणनीतिक उपहार हो। यो उपहारलाई ‘वरदान’ बनाउने कि ‘अभिशाप’, त्यो पूर्णतः हाम्रो कूटनीतिक र राजनीतिक चातुर्यतामा निर्भर गर्दछ। कुनै एक शक्ति राष्ट्रको अन्धो पक्षपोषण गर्नुभन्दा ‘नेपाल प्रथम’ को राष्ट्रिय नीति लिएर सबैलाई नियमन गर्नु नै आजको सबैभन्दा ठूलो बुद्धिमानी हो। सरकारले ढिला नगरी यसको वैज्ञानिक खोजतलास, वास्तविक परिमाण र सम्भावित वातावरणीय एवं भू-राजनीतिक प्रभावबारे श्वेतपत्र जारी गरी जनमानसमा रहेको संशय मेटाउनु पर्छ। मुस्ताङको खनिज हाम्रो राष्ट्रिय सार्वभौमिकताको रक्षा र आर्थिक आत्मनिर्भरताको दह्रो आधार बन्न सकोस्; यसका लागि राज्यको दृढ इच्छाशक्ति र स्पष्ट भिजन नै निर्णायक हुनेछ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया