काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका बस्तीहरूको दीर्घकालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको जोखिमलाई ध्यानमा राख्दै ती बस्तीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागिएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन घरबार छोडेर भाग्नुपर्ने अवस्था अन्त्य गर्न अब ढिलाइ गर्न नहुने उल्लेख गरेका छन्।

advertisement

“अब पनि दुर्घटना पर्खेर बस्ने कि सुरक्षित व्यवस्थापन गर्ने भन्ने प्रश्न छ,” उनले भनेका छन्।
उनका अनुसार नदीकिनारका सुकुम्बासी बस्तीहरूका कारण ढल निकास प्रणालीमा समेत अवरोध पुगेको छ, जसले गर्दा काठमाडौंका नदी–खोलाहरू प्रदूषित र दुर्गन्धित बन्दै गएका छन्।

यसलाई सुधार गर्न पनि बस्ती स्थानान्तरण आवश्यक रहेको उनको भनाइ छ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा सार्ने योजना सरकारको रहेको उनले जनाएका छन्।

साथै, उनले सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर वास्तविक पीडितलाई प्राथमिकतामा राखिने बताए।
प्रधानमन्त्री शाहले आफूले विगतमा गरेका प्रतिबद्धता—सुकुम्बासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रण कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा उपलब्ध गराइने दाबी गरेका छन्।
“वर्षौँ पुरानो समस्या समाधान गर्ने जिम्मेवारी अहिलेको सरकारको हो,” उनले भने, “नागरिकलाई सुरक्षित बसोबासको अधिकार सुनिश्चित गरिनेछ।”
सरकारले दीर्घकालीन समाधानतर्फ काम गरिरहेको भन्दै उनले सुकुम्बासी नागरिकलाई आश्वस्त हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com