काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र बन्दै गएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणको तयारी अघि बढाएका छन्।

भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने कार्यक्रम रहेको छ।

advertisement

उनी प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो दिन नेपाल आउन लागेको बताइएको छ।

दुई दिनको नेपाल बसाइका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्तरण गर्ने तयारी छ।

यसअघि प्रधानमन्त्री मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै भारत भ्रमणको निम्तो दिइसकेका थिए।

सो निम्तो बालेनले स्वीकार गरिसकेको जानकारी परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन्।

भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता हुने बताइएको छ।

भ्रमणका बेला दुई देशबीच भएका पूर्व सहमतिहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा पनि हुने जनाइएको छ।

स्रोतका अनुसार मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत जानेछन्।

उनको भ्रमण सम्पन्न भएपछि मात्र प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय हुने सम्भावना रहेको बताइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा सुरु भएसँगै सीमा विवादका विषय पनि पुनः चासोमा परेका छन्।

विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरासम्बन्धी विषयमा सरकारले कस्तो धारणा राख्छ भन्नेमा धेरैको ध्यान केन्द्रित भएको छ।

प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाँदा द्विपक्षीय सम्बन्ध, व्यापार, पूर्वाधार सहकार्य र सीमा मुद्दा मुख्य एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com