काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे, तर शतक बनाउनबाट ६ रनले चुके।
आसिफले अर्जुन कुमालसँग दोस्रो विकेटका लागि १२३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। वान डाउनमा आएका अर्जुनले संयमित खेल प्रदर्शन गर्दै ८७ बलमा ४ चौकासहित ४८ रन बनाए।
मध्यक्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४ छक्का र १ चौकासहित ४३ रन जोडे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालको इनिङ्स अन्त्यतिर तीव्र गतिमा अघि बढेको थियो। अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार हुँदा स्कोर उकासिएको थियो। तर पाँचौं बलमा विकेट गुमाएसँगै नेपाल एक बल अगाडि अलआउट भयो।
ओमानका लागि नदिम खानले सर्वाधिक ३ विकेट लिए भने सकिल अहमदले २ विकेट झारे। अन्य बलरहरूले समान १–१ विकेट लिए।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याउँदै ओमानले जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया