काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयका अनुसार उक्त भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए । प्रत्युत्तरमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरिन् ।
दुवै पक्षबीच नेपालका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण तथा विशिष्टीकृत उपचार सेवा विस्तारका विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, आगामी दिनमा स्वास्थ्य पूर्वाधार विकासमा भारतीय सहयोगलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा समेत सहमति भएको छ । नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया