काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल राष्ट्रिय क्रिकेट टोली र अमेरिका राष्ट्रिय क्रिकेट टोली बीच महत्वपूर्ण खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ।
नेपाल, अमेरिका र स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली सम्मिलित जारी शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि सोही अन्तरले हराएको थियो।
विश्वकप लिग–२ को अङ्क तालिकामा नेपालको अवस्था चुनौतीपूर्ण बनेको छ। २५ खेल खेलेको नेपालले ८ खेलमा जित, १५ खेलमा हार तथा २ खेल अनिर्णित खेलेर १८ अङ्कसहित आठौँ स्थानमा रहेको छ। विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले बाँकी सबै ११ खेल जित्नुपर्ने दबाब छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहन आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ।
यता, अमेरिकाले २५ खेलमध्ये १८ खेल जित्दै ३६ अङ्कका साथ दोस्रो स्थानमा कब्जा जमाएको छ भने स्कटल्याण्ड ३० खेलबाट ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया