काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हाल मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल रहनेछ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा अन्य पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना पनि रहेको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया