काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ललितपुरको भैंसीपाटी मगरगाउँदेखि सिकाली मार्ग जाने सडकको दयनीय अवस्थाप्रति प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएकी छन्।
सडक ठाउँ–ठाउँमा फुटेको, ढल सडकमै बगिरहेको र उचित निकासको व्यवस्था नहुँदा दैनिकजसो दुर्घटना हुने गरेको भन्दै उनले यस्तो अवस्था महानगर क्षेत्रभित्रै हुनु अत्यन्त दुःखद भएको बताइन्।बुधबार संसद बैठकमा बोल्दै सांसद कार्कीले भैंसीपाटी क्षेत्रको सडक समस्यालाई केवल स्थानीय असुविधाको विषय नभई जनसुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा भएको उल्लेख गरिन्।
“जनताको ज्यान जोखिममा परेको सडक मर्मतका लागि राज्यसँग आपतकालीन बजेट पर्याप्त हुनुपर्ने होइन र?” भन्दै उनले सरकारसँग स्पष्ट जवाफ मागिन्।
कार्कीले आफूले तत्कालीन सहरी विकास मन्त्रालय तथा ढल व्यवस्थापन महाशाखाका प्रतिनिधिसँगै स्थलगत निरीक्षण गरेको जानकारी दिँदै सम्बन्धित निकायबीच जिम्मेवारीको अन्योल देखिएको बताइन्।
“एक निकाय भन्छ— यो हाम्रो क्षेत्राधिकार होइन, अर्को निकाय भन्छ— बजेट छैन,” भन्दै उनले राज्य संयन्त्रबीचको असमन्वयले नागरिकले दुःख पाएको टिप्पणी गरिन्।
उनले नेपालमा पूर्वाधार निर्माणको दीर्घकालीन योजना कमजोर रहेको बताउँदै सडक निर्माणपछि केही महिनामै फेरि खानेपानी, विद्युत्, ढल लगायतका कामका लागि भत्काइने प्रवृत्तिमाथि कडा असन्तुष्टि जनाइन्।
“नेपालमा सडक बनाउनभन्दा भत्काउनमा धेरै खर्च भइरहेको छ,” भन्दै उनले योजनाविहीन निर्माण प्रणालीले सार्वजनिक धनको दुरुपयोग भइरहेको बताइन्।
सांसद कार्कीले आगामी आर्थिक वर्षदेखि सडक निर्माणअघि सबै सम्बन्धित निकायबीच अनिवार्य समन्वय गरेर एकीकृत पूर्वाधार योजना लागू गर्न सरकारसँग जोडदार माग गरिन्।
“सडक बनाएर छाड्ने होइन, त्यसलाई सुरक्षित राख्ने जिम्मेवारी पनि सरकारकै हो,” उनले संसदमा भनिन्।
भैंसीपाटी–सिकाली सडकको बिग्रँदो अवस्थाबारे स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका बेला सांसद कार्कीले संसदबाटै विषय उठाएपछि सम्बन्धित निकायमाथि दबाब बढेको छ।
वर्षायाम नजिकिँदै गर्दा उक्त सडक तत्काल मर्मत र ढल निकास व्यवस्थापन नगरे थप दुर्घटनाको जोखिम बढ्ने स्थानीयको चिन्ता छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया