हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिने विश्वास व्यक्त गरेका छन्। उनले रास्वपाप्रति नागरिकको भरोसा र अपेक्षा निरन्तर बढिरहेको दाबी गर्दै पार्टीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म उल्लेखनीय सफलता हासिल गर्ने बताएका हुन्।
मंगलबार हेटौँडामा आयोजित रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बुर्लाकोटीले परम्परागत राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जाँदा रास्वपा आशा र परिवर्तनको विकल्पका रूपमा स्थापित हुँदै गएको बताए।
उनले किसान, श्रमिक, युवा तथा आम नागरिकले रास्वपालाई विश्वासको केन्द्रका रूपमा हेर्न थालेको उल्लेख गर्दै पार्टीले जनअपेक्षा पूरा गर्न जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘परिवर्तनको सुरुवात स्थानीय तहबाटै हुन्छ। योग्य, सक्षम र स्वच्छ छवि भएका उम्मेदवारलाई अघि सार्न सके आगामी निर्वाचनमा जनताले नयाँ राजनीतिक सन्देश दिनेछन्,’ उनले भने, ‘हामी सत्ता वा व्यक्तिगत लाभका लागि होइन, देशको दीर्घकालीन विकास र समृद्धिका लागि राजनीतिमा सक्रिय छौँ।’
महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीभित्र नेतृत्व र जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, क्षमता, इमानदारिता, कार्यसम्पादन र योगदानलाई प्राथमिक आधार बनाइने स्पष्ट पारे। उनले संगठनलाई विधिसम्मत, पारदर्शी र परिणाममुखी बनाउँदै जनविश्वास अझ बलियो बनाउने लक्ष्य रहेको बताए।
उनको भनाइमा रास्वपाले आगामी दिनमा संगठन विस्तारसँगै जनसरोकारका मुद्दामा केन्द्रित भएर काम गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो उपस्थिति थप मजबुत बनाउनेछ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया