काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापासँग भेटका लागि पटक–पटक प्रयास गर्दा पनि समय नपाएको बताएका छन्।
बुधबार चुनदेवीमा बसेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बैठकमा बोल्दै महतले गगन थापासँग फोनमा कुरा भएको र भेटका लागि ह्वाट्सएप तथा सामान्य सन्देशमार्फत समय मागे पनि कुनै प्रतिक्रिया नआएको बताए।
उनका अनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न आग्रह गरेपछि उनले गगन थापासँग संवादको प्रयास गरेका थिए। गगनले सुरुवातमा ‘भोलि नै गरौँ’ भने पनि त्यसपछि कुनै खबर नआएको महतको भनाइ छ।
महतले पार्टीभित्रको अन्योल अन्त्य गर्न संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको मिति तत्काल घोषणा गर्नुपर्ने धारणा राखे। संस्थापन पक्षबाट पार्टी एकताका विषयमा अहिलेसम्म ठोस प्रतिक्रिया नआएकाले अब थप ढिलाइ गर्न नहुने उनको भनाइ थियो।
उनले १५औँ महाधिवेशन सहमतिका आधारमा सम्पन्न गर्ने प्रस्ताव सभापति गगन थापासमक्ष राखे पनि त्यसमा सहमति नजुटेको दाबी गरे।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया