काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी कुटपिट गरेको आरोप लगाउँदै आफ्नो जीवन, स्वतन्त्रता र मौलिक अधिकारको संरक्षण गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट सोमबार जारी वक्तव्यमा अन्सारीले संघीय संसदका सदस्य, प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार निकाय, नागरिक समाज र मानव अधिकारकर्मीहरूसँग आफ्नो सुरक्षा सुनिश्चित गरिदिन आग्रह गरेका छन्।
अन्सारी गत शनिबार कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएको दाबी गर्दै उनी हाल शिक्षण अस्पतालमा उपचाररत छन्।
वक्तव्यमा उनले पक्राउको कारण अहिलेसम्म नबताइएको, पक्राउ पुर्जी नदेखाइएको तथा आफ्नो नियन्त्रणको कानुनी आधारबारे कुनै जानकारी नदिइएको उल्लेख गरेका छन्। उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग सार्वजनिक रूपमा आफ्नो पक्राउको कारण स्पष्ट पार्न माग गरेका छन्।
यद्यपि, अन्सारीले लगाएका आरोपबारे नेपाल प्रहरी वा गृह मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
अन्सारी बाढी प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगेका बेला प्रहरी कारबाहीमा परेका थिए। त्यस क्रममा नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरू रिहा भए पनि उनी अस्पतालमै उपचाररत अवस्थामा प्रहरी निगरानीमा रहेको जेनजी अभियन्ताहरूको दाबी छ।
अभियन्ताहरूका अनुसार उपचारकै क्रममा रहेका अन्सारीलाई जबरजस्ती अस्पतालबाट डिस्चार्ज गराई जिल्ला प्रशासन कार्यालय उपस्थित गराउने तयारी भइरहेको छ। उनीविरुद्ध सार्वजनिक मुद्दा अघि बढाउने तयारी भएको उनीहरूको भनाइ छ।
अन्सारीले भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिको रोहबरमा मात्रै प्रशासन कार्यालयमा उपस्थित हुने अडान लिएका छन्। आयोगको उपस्थिति बिना आफू अस्पताल नछाड्ने उनको भनाइ छ।
अन्सारीमाथि गैरकानुनी दबाब परेको सूचना प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली शिक्षण अस्पतालतर्फ गएको जनाइएको छ। अस्पताल परिसरमा शनिबारदेखि नै सादा पोशाकसहितका प्रहरी परिचालन गरिएको र सोमबार बिहान उनी उपचाररत बेडसम्म प्रहरी पुगेको अभियन्ताहरूले बताएका छन्।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया