काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसअघि सिमरामा भएको मौखिक सहमतिलाई औपचारिक रूप दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै पक्षबीच अन्तिम चरणको वार्ता जारी छ।
हिजो भएको सकारात्मक छलफलका आधारमा आज सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेको हो। सहमति भए लगत्तै दुवै पक्षले औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्यका रूपमा सहभागी छन्।
दुवै पक्षबीच सहमति जुटेपछि मिटरब्याज पीडितका माग सम्बोधन गर्ने विषयमा औपचारिक लिखित सम्झौता सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया