काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएको वन डढेलोको धुवाँ का कारण अमेरिकाको वायु प्रदूषण बढेको आरोप लगाउँदै क्यानडामाथि नयाँ कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले क्यानडाले आफ्ना वनको उचित व्यवस्थापन गर्न नसकेको दाबी गर्दै यसले अमेरिकालाई अर्बौं डलर बराबरको आर्थिक क्षति पुगेको उल्लेख गरेका छन्। उनले यस विषयमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग छलफल गरी आवश्यक जवाफ माग्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले क्यानडाको लापरवाहीका कारण प्रदूषित हावा अमेरिकातर्फ बगिरहेको दाबी गर्दै यसलाई वार्षिक समस्या बन्दै गएको टिप्पणी गरेका छन्। उनले यस्तो प्रदूषणको लागत क्यानडामाथि लगाइने शुल्कमा समेत समावेश गरिनुपर्ने बताएका छन्।
हाल क्यानडाका विभिन्न क्षेत्रमा व्यापक वन डढेली फैलिएको छ। शुक्रबारसम्म देशभर करिब ८८८ वटा डढेलो सक्रिय रहेको र तीमध्ये अधिकांश अझै नियन्त्रणमा नआएको जनाइएको छ। ओन्टारियो प्रान्तमा मात्र १९० भन्दा बढी डढेलो लागेको छ।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्राकृतिक विपद्सँग जुध्नु क्यानडा र अमेरिकाको साझा जिम्मेवारी भएको बताएका छन्।
ट्रम्पको अभिव्यक्तिपछि क्यानडाका आपतकालीन व्यवस्थापन मन्त्रीले दुवै देश प्राकृतिक प्रकोप व्यवस्थापनमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरे। उनले सन् १९८२ को अग्नि नियन्त्रण सम्झौता र सन् २०२५ को जी–७ शिखर सम्मेलनमा भएको विपद् सहयोग सम्झौताले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाएको बताए।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया