काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारलाई नेपालको अर्थतन्त्रको बलियो आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालासँग भएको छलफलमा उनले बजारको विकास, विस्तार र लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर एशोसिएशन, धितोपत्र व्यवसायी, बीमा कम्पनी तथा अन्य सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पुँजी बजारको वर्तमान अवस्था, नीतिगत सुधार, कानुनी व्यवस्था र समग्र अर्थतन्त्रसँग यसको सम्बन्धबारे विस्तृत छलफल भएको थियो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सेबोनका अध्यक्ष गोपाल भट्टले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव प्रस्तुत गरिएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई पुँजी परिचालन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।

बैठकमा लगानीकर्ताको मनोबल बढाउने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने, मार्जिन लेन्डिङ सहज बनाउने, गैरआवासीय नेपाली (एनआरएन) को लगानी आकर्षित गर्ने तथा स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।

त्यसैगरी, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधार, १० कित्ते आवेदन व्यवस्थाको पुनरावलोकन, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालन गर्ने तथा नयाँ लगानी उपकरण विकास गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com