जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ स्थित नहरचोकको मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले स्पष्ट गरेको छ।
प्रहरीका अनुसार मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी हुन्। उनी मन्दिरका पुजारी नभई विभिन्न स्थानमा काम गर्ने तथा राति मन्दिर परिसरमा आएर बस्ने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जारी गरेको विज्ञप्तिमा घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको उल्लेख गरिएको छ। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको र प्रमाण संकलन तथा तथ्य विश्लेषणको काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटनालाई विशुद्ध आपराधिक प्रकृतिको देखाएको छ। त्यसैले यस घटनालाई धार्मिक विवाद वा साम्प्रदायिक कोणसँग जोडेर अफवाह फैलाउन नहुने भन्दै सर्वसाधारणलाई संयम अपनाउन आग्रह गरिएको छ।
घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याएर कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रहरीले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया