काठमाडौँ । बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन्।

उनी पाटन उच्च अदालतमा २० लाख  रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ  धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो।

सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने काठमाडौँ उपत्यका बाहिर जाँदा पनि प्रशासनको अनुमति लिनु पर्नेछ। साथै उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदालतले रोक लगाएको छ।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।

काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए।

बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो। लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन्।

 

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com