काठमाडौं । विभिन्न अखाद्य वस्तु मिसाएर घिउ बनाउने एक उद्यमीसहित चार जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

भैँसीसहित विभिन्न पशुको बोसोबाट घिउ बनाउने मेसिन सहित रौतहट प्रहरीले सदरमुकाम गौरबाट तिनलाई नियन्त्रणमा लिएको हो।

गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेर ठुलो परिमाणमा अखाद्य बस्तुहरू बरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर ५ स्थित पोखरीको पश्चिमी डिलमा सञ्चालनमा रहेको फुलतारा डेरी उद्योगमा छापा मारेको हो।

भैँसीसहित विभिन्न पशुको बोसोलाई मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू पनि ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ। डेरीको नाममा अखाद्य वस्तु मिसाएर बिक्री गर्ने डेरी संचालक राजपुर नगरपालिका १ भगवानपुर स्थायी घर भई गौर ५ मा आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसै गरी प्रहरीले डेरीमा कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

डेरीबाट उत्पादन हुने घिउ तथा अन्य उत्पादनमा मिसाउने भैँसीको बोसो र अन्य अखाद्य पदार्थहरू चोर बाटो भएर भारतबाट ल्याउने गरिएको प्रहरी समक्ष डेरी संचालक मतिउल्लाहले स्वीकार गरेका छन्।

डेरीबाट उत्पादित घिउ गौर, काठमाडौँसहित मुलुकको विभिन्न भागमा सप्लाई हुँदै आएको छ। यसै गरी डेरीका घिउ, दूध, मिठाइ लगायतका सामान ठुलो परिमाणमा स्थानीयले किन्ने गरेका छन्। डेरीको वास्तविकता थाहा पाएपछि स्थानीयवासी चकित भएका छन्।

 

प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com