काठमाडौं । यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज साेमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए ।

आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न पाएनन् । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पटक–पटक झडप भएको छ । झडपमा प्रहरीले अशृ ग्यास र लाठीचार्ज गरेको छ भने यातायात मजदुरले ढुङ्गा हानेका छन् । प्रदर्शनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोस्टसमेत भत्काएका छन् ।

रातिसम्म पनि नयाँ बसपार्क क्षेत्रको अवस्था सामान्य हुन सकेको छैन । प्रदर्शनकारी र प्रहरीको कुटाइ खाने डरले सर्वसाधारण हिँडडुल गर्नसमेत डराइरहेका छन् । एकातिर गाडी नपाउने र अर्कोतिर पैदल हिँड्दासमेत त्रास भएकाे उनीहरूको गुनासो छ ।

यसैबीच यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक सवारी  नचललाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com