काठमाडौं । सीता दाहाल ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी छन् । उनको उपचारमा कुनै कमी हुन दिइएको छैन । प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको छ । एक जना नर्सले उनको हेरचाह गरिरहेकी छन् । तर, अवस्था सुधार हुनुको साटो सीताको शरीर झनझन् कमजोर हुँदै गएको छ ।

‘उहाँको अवस्था उस्तै छ । होस छैन । बोल्न र हिँडडुल गर्न सक्नुहुन्न । हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न,’ केही समयअघि उनलाई भेटेका एक माओवादी नेताले भने । उनको खानपान घटेको छ । भेट्न गएकाहरुलाई चिन्न प्रयत्न गर्छिन् तर, सक्दिनन् । कसैले सहारा दिएर उठाए पनि उनी आफैँ बस्न सक्दिनन् ।

  • अस्पतालमा उपचारका क्रममा आमाको अवस्था नियालिरहेकी छोरी गंगा दाहाल (फाइल फोटो)

बेलाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अवस्था बुझ्न सो कोठामा आइरहन्छन् । पत्नीको नाजुक अवस्था देख्दा उनी विचलित हुन्छन् । तैपनि उनी सीतालाई ढाडस दिन्छन्, ‘नआत्तिऊ, सन्चो हुन्छ ।’ तर, सीताले भने प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएकै थाहा पाएकी छैनन् ।

गत मंसिर १९ गते अचेत भएर ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गरेयता उनको चेत फर्केको छैन । पुस १० मा प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार सरेपछि सीतालाई पनि ल्याइएको हो । त्यसअघि खुमलटारस्थित निवासमै उनको हेरचाह चलिरहेको थियो ।

  • सन् २००५ मा जनयुद्धको क्रममा दाङमा सेटलाइट फोनमा बोलिरहेका प्रचण्ड, साथमा सीता दाहाल

सल्लाहकार सीता

तीन छोरी र एक सानो छोराको हेरचाह गर्नुपर्ने बेला प्रचण्ड जनयुद्धको अन्तिम तयारी गरिरहेका थिए । अर्धभूमिगत रुपमा श्रीमानले आन्दोलनको तयारी गरेको सीताले सुइँको नपाउने कुरै भएन । त्यसबेला प्रचण्ड नेकपा मशालको महामन्त्री थिए । प्रचण्डबारे उनी पार्टीको सम्पर्क सूत्रमार्फत जानकारी लिन्थिन् ।

२०४९ सालमा जेठी छोरी ज्ञानुको बिहे भयो । त्यसपछि प्रचण्डले निर्मल लामाको नेकपा चौथो महाधिवेशन, नेकपा मसालको हरिबोल गजुरेल, डा.बाबुराम भट्टराईको समूहसँग एकता गरी नेकपा एकता केन्द्र बनाए । जनयुद्ध थाल्ने बेला एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो ।

युद्धका अन्तर्राष्ट्रिय अभ्यास, फौजी रणनीतिको प्रयोग, हतियार र सैन्य दस्ता निर्माणमा गहन अध्ययन गरेका महामन्त्री प्रचण्डले अन्तिम तयारी सके । युद्धको तयारीसँगै प्रचण्डलाई सुरक्षा चिन्ता थपियो । उनी सुरक्षित रहन र युद्धलाई थप अघि बढाउन सेल्टर परिवर्तन गर्नुपर्ने अवस्थामा पुगे ।

दुई छोरी रेनु र गंगाको पढाइ सक्नुपर्ने थियो । छोरो प्रकाश निकै सानो थिए । उनले सीतालाई भने, ‘युद्धमा जे पनि हुनसक्छ । तिमीले बालबच्चाको हेरचाह गर्नू ।’ तर, सीताले श्रीमानलाई आफू पनि युद्धमा सँगै जाने प्रस्ताव राखिन् । सुरुमा प्रचण्डले मानेनन् । दुई छोरी र छोराको भविष्यको चिन्ताले उनी सीतालाई सँगै लिएर हिँड्न तयार भएनन् ।

फेरि सीताले आत्मविश्वाससहित भनेपछि सहमत भए । प्रचण्डसँगै सीता पनि युद्धमा मिसिइन् । २०५२ फागुन १ गते जनयुद्ध सुरु भयो । पश्चिम र पूर्वका केही ठाउँमा एकैसाथ प्रहरी कार्यालयमाथि माओवादीले आक्रमण गर्यो । त्यो बेला प्रचण्ड र सीता काठमाडौंमै थिए । त्यसपछि सीता कहिले रोल्पा, रुकुम त कहिले काठमाडौं, ललितपुरका विभिन्न ठाउँ सर्दै बसिन् ।

  • माओवादीको सन् २००५ को चुनवाङ बैठकले बाबुराम भट्टराईमाथिको कारबाही फिर्ता गरेपछि प्रचण्ड, सीता, भट्टराई र हिसिला यमी (तस्वीर : दिनेश श्रेष्ठ)

युद्ध चर्किंदै गएपछि उनीहरु भारतका विभिन्न सहरमा बसे । सीताले प्रचण्डलाई युद्धका आरोह–अवरोहहरुमा हरतरहले साथ दिएको र उनलाई बचाएको माओवादी नेताहरु बताउँछन् । ‘जनयुद्धमा निरन्तर लागेर हेडक्वार्टरको रक्षा र विकास गर्ने मुख्य भूमिका सीता दाहालको थियो,’ माओवादीका एक नेताले भने, ‘प्रचण्डलाई सफल बनाउन उहाँको ठूलो र महत्वपूर्ण योगदान छ ।’

‘सीएमको म्याडम भएर मात्र होइन, सीताजीमा साँच्चै सल्लाहकारमा हुने क्षमता थियो, उहाँको सल्लाह अनुसार चालिएका कतिपय कदम सही साबित भएको थियो,’ पदाधिकारी समेत रहेका ती नेता भन्छन् । शान्ति प्रक्रियामार्फत् माओवादीले संसदीय राजनीति सुरु गर्यो । पहिलो संविधान सभाको चुनाव (२०७४ चैत २८) मा माओवादीले ऐतिहासिक विजय प्राप्त गर्यो । माओवादी सत्तामा पुग्यो ।

  • भारतको गोवामा अक्टोबर २०१६ मा भएको ब्रिक्स–बिमस्टेक सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहाल ।

सत्तायात्रासँगै विचलन आएको भन्दै माओवादीको आलोचना बढ्यो । ‘तर, सीता दाहालजीले प्रचण्डलाई टिकिराख्न होइन जनताको सेवा गर्न सत्तामा जाने हो भन्ने कुरा नबिर्सन सम्झाउनु हुँदोरहेछ,’ ती नेताले भन्छन्, ‘माओवादीले अझै निकै गर्न बाँकी रहेको बताउनु हुँदोरहेछ ।’ केही वर्षयता भने प्रचण्डले सीताको सल्लाहको कुरै छाडौँ, बोली समेत सुन्न पाएका छैनन् ।

सीताको जीवनमा परेका बज्रपात

दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समय अघि मात्र जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखियो । यसले सीता दाहाललाई ठूलो तनाव दियो । छोरीको उपचारका सबै उपाय खोजी भयो । देशभित्र र बाहिर (भारत) पनि उपचारका लागि लगियो । तर, क्यान्सर निको भएन । २०७० चैत १३ गते ज्ञानुको ४० वर्षकै उमेरमा काठमाडौँको ओम अस्पतालमा मृत्यु भयो ।

एक्कासि छोरीको निधनले सीता विक्षिप्त भइन् । उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो । तर, धेरै मानसिक तनाव नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए । दोस्रो संविधान सभाको चुनावमा माओवादी तेस्रो पार्टीमा खुम्चिएको थियो । पार्टी विभाजन लगायतका तनाव प्रचण्डले झेलिरहेका थिए ।

उनले सीताको हेरचाहमा ज्यादा समय दिन पाएका थिएनन् । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि प्रचण्ड निकै खुसी थिए । सीता पनि रमाउने प्रयत्न गर्थिन् । तर, छोरी गुमाएको पीडाले उनलाई बेलाबेला मुर्छित पाथ्र्याे । त्यही बेला छोरो प्रकाशले फेरि प्रचण्डको सचिवालय हेर्न थाले ।

त्यसअघि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला पनि प्रकाश सचिवालयमै थिए । तर, बिना मगरसँग बिहे गरेपछि उनले २०७० माघ ११ मा सचिवालय नबस्ने घोषणा गरेका थिए । चैत १३ गते दिदी ज्ञानुको मृत्यु भएपछि प्रकाश फर्किएका थिए । त्यसपछि आमाको हेरचाह उनैले गर्न थाले ।

एकजना सहयोगी घरमा सधैँ हुन्थे । सीतालाई एक्लै छोडिएको थिएन । २०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भयो । एमाले र माओवादीले चुनावी तालमेल गरे । चुनाव प्रचारमा प्रचण्ड जति व्यस्त थिए, त्यति नै प्रचारमा खटिएका थिए प्रकाश पनि । तर, चुनाव आउन एक हप्ता बाँकी हुँदा (२०७४ मंसिर ३) प्रचण्ड–सीतालाई अर्काे बज्रपात पर्यो ।

लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको ३ मंसिर २०७४ मा मृत्यु भयो । छोरोको मृत्युपछि सीता झन् विक्षिप्त भइन् । उनको पीडा देख्न नसकेर प्रचण्डले निवास छाडे । लाजिम्पाटको निवास छोडेर उनीहरु ललितपुरको खुमलटार सरे । एकपछि अर्काे सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो । उनी दैनिक शिथिल बन्दै गइन् ।

के हो सीताको व्यथा ?

जेठी छोरी र छोरा गुमाएपछि सीता दाहालमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखियो । यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ । मानिस हिँड्न, बोल्न र निल्न सक्तैन । मस्तिष्कको कोसिकामा एक्कासि क्षति भएर सीतामा यो रोग देखिएको चिकित्सकहरुको भनाइ छ ।

यस्तो रोग देखिएपछि प्रचण्डले सीतालाई ४ असार २०७५ मा सिंगापुर लिएर गए । सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरियो । तर, सुधार भएन । फेरि सोही वर्षको चैत ३ गते अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार भयो । त्यसले पनि भएन । त्यसपछि, २०७६ पुस ४ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचारको कोसिस गरे।

२०७७ पुस २० मा भारतको मुम्बई लगिएको थियो । सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराए । २०७८ असार ३१ मा नेकपाका महासचिव विप्लवले सीतालाई खुमलटार निवासमै गएर भेटेका थिए । विप्लवलाई देखेर सीताले चिनेजस्तो गरेकी थिइन् । त्यो पाँच वर्षपछिको भेट थियो ।

साउन ५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार निवास पुगेर सीताको स्वास्थ्य अवस्था जानकारी लिएका थिए । यति कोसिसका बाबजुद कसैगरी सीतालाई बिसेक हुने छाँट देखिएको छैन ।

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com