काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीद्वारा पक्राउ पुर्जी काट्ने प्रक्रिया रवि लामिछाने गृहमन्त्री भएका बेला कस्तो थियो भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग जिज्ञासा राखेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले रास्वपाका नेताहरूमाथि कटाक्ष गर्दै भनेका छन्, “प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदा कस्तो थियो भन्ने कुरा रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै छैन। सुधारको खोजी यस्तै बेला हुन्छ नि!”
रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सभापति रवि लामिछानेको घरमै पुगेका प्रहरीहरूले विधिविपरीत ‘बेडरूमभित्रै बसेर’ पक्राउ पुर्जी बनाएको भन्दै त्यसको कडा भर्त्सना गरेको थियो।
यसै सन्दर्भमा पोखरेलले विगतमा गृह मन्त्रालयको नेतृत्व गरेको व्यक्तिका हैसियतले रवि लामिछाने स्वयंले पालना गरेका प्रक्रियाहरू स्मरण गराउँदै वर्तमान घटनाको आलोचना गर्नुअघि आत्ममूल्यांकन गर्न सुझाएका छन्।
प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार
प्रतिक्रिया