काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। अहिलेसम्म गणना गरिएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित अगाडि छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।

विगतमा कांग्रेस र एमालेलाई मत दिएकाहरूले पनि यसपालि रास्वपा उम्मेदवार वाग्लेलाई मत दिएको देखिन्छ।

वाग्लेले आफूहरूले सोचेकोभन्दा राम्रो मत आइरहेको प्रतिक्रिया दिएका छन्।

सेतोपाटीसँग आज कुराकानी गर्दै वाग्लेले कम मत आउँछ भनेर सोचेका ठाउँमा पनि राम्रो मत आइरहेको बताए।

‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ,’ वाग्लेले भने, ‘भानु नगरपालिका वडा नम्बर ७ र ८ मा भने सोचेअनुसार हामीलाई मत आएन।’

उनले वडाअनुसार मत विश्लेषण गर्न बाँकी नै रहेको बताए।

‘आँबुखैरेनी गाउँपालिकामा राम्रो मत आउँछ भन्ने हामीलाई थाहा थियो,’ उनले भने, ‘आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’

ब्यास नगरपालिकाका वडाहरूलगायतमा पनि आफूहरूलाई राम्रो मत आउने उनले बताए।

अहिलेसम्म १३ वडाको १८ हजार ६ सय ६१ मत गणना गर्दा वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन्।

कांग्रेसका भट्टराईले ५ हजार ३ मत र एमालेका खनालले २ हजार ७ सय ९७ मत ल्याएका छन्। तनहुँ १ मा ४२ वडा छ। अब २९ वडाको मतपरिणाम आउन बाँकी छ। मतगणना जारी छ।

 

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com