सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्।सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ।उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।

राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीमा वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो।उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ।

उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको मान्छन्।

सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्। म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ।   – बिबिसी

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com