काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताएका थिए । 

मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।

‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भने ।

बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताएका थिए । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पारेका थिए । ‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’

आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो । यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार रहेको बताएका थिए । ‘तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ । यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ । त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन,’ पौडेलले भने ।

आफ्नो उम्मेदवारी गठबन्धनलाई असर पर्ने वा पार्टीमा समस्या हुने गरी भन्दा पनि चितवनमा मतदाताको सम्मानका लागि भएको उनले गृहमन्त्रीसँग स्पष्ट पारेका थिए । ‘यो पार्टी र गठबन्धनको संकट जुन छ त्योसँग मलाई जोडेर हेर्नुभएन । यो त केवल स्थानीय पार्टी बचाउने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘केन्द्रसँग कुनै लेनदेन छैन । भोलिसम्म अन्याेलका स्थिति होला । त्यसपछि सहज रूपमा अगाडि जान्छ ।’

उनलाई मेयर पद छाडेको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राखेका थिए । त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, उनले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दै प्रस्तावहरू अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com