काठमाडौँ । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गरेको छ । तर, सँगसँगै नेपाली टिमलाई ठूलो धक्का लागेको छ । टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् ।

दीपेन्द्र आजको म्याचअघिसम्म सकुशल थिए । उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । यद्यपि, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।

घाइते भएपछि दीपेन्द्रलाई टीयु ग्राउन्डबाट मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट सुखद नआएको स्रोतले बताएको छ । डाक्टरहरूले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परीक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए । अहिले भिआइपी बक्समा अन्य खेलाडीसँगै ओमान र मलेसियाको म्याच हेरिरहेका छन् ।

विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने प्रतियोगिता हो । दीपेन्द्रको खुट्टा ठिक हुन केही समय लाग्ने भएकाले उनले पूरै प्रतियोगिता गुमाउने देखिएको छ । यस विषयमा नेपाल क्रिकेट सङ्घले आजै औपचारिक जानकारी गराउने छ ।

दीपेन्द्र टीममा नहुनु नेपालका लागि निकै ठूलो क्षति हो । उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अब्बल छन् । टी(२० मा नेपालका सर्वाधिक सफल ब्याट्सम्यान हुन् उनी । पछिल्लो समय उनको ब्याटिङ फर्म उत्कृष्ट थियो । टीममा दीपेन्द्रको सहज रिप्लेसमेन्ट छैन । नेपालको लागि निकै महत्त्वपूर्ण प्रतियोगितामा दीपेन्द्रको चोटले नेपाललाई नै ठूलो चोट लागेको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com