काठमाण्डाै । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावका बेला झुटा आश्वासन बाँडेर नहिँड्न पार्टीका उम्मेदवारहरूलाई आग्रह गरेका छन् । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक सङ्घद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्। 

झुटा सपना चुनावका बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने अवस्था आउने महामन्त्री शर्माकाे भनाइ थियो।

शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरीत खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त समेत गरे । महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता सच्याएर अघि बढ्नुपर्ने बताए।

महामन्त्री शर्माले चुनावमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका पालिका  तहका उम्मेदवारहरूलाई सचेत गराएका छन्। उनले भने- ‘अहिले बनेको आचारसंहितामा केही प्रश्न उठाउनुपर्ने विषय पनि छन्। सामाजिक सञ्जालबाट प्रचार गर्न नपाउने हो भने, उम्मेदवारले मात्रै गर्न पाउने भन्ने हो भने, पार्टीले मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रचार गर्ने भन्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको हुन्छ । त्यसैले मैले भनेको छु– आचारसंहिताले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता बन्देज गर्न खोजेको छ भने त्यसलाई सच्याऔँ र स्वस्थ ढङ्गले चुनावमा प्रतिस्पर्धा गरौँ।’ 

 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com