काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीलाई सरकार र क्रिकेट संघले पनि भारी नगद पुरस्कार वितरण गर्ने भएका छन् । क्रिकेट संघले एकमुष्ट ५० लाख रुपैयाँ दिने हिजो निर्णय गरेको थियो भने सरकारले प्रतिखेलाडी १३ लाख रुपैयाँ छुट्टै वितरण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले सरकारलाई १३ लाख रुपैयाँको दरले पुरस्कार दिन सिफारिस गरेको हो । परिषद्को पुरस्कारसम्वन्धी कार्यविधिमा नै नेपाल विश्वकपमा छनोट भएको खण्डमा खेलाडीलाई १३ लाख रुपैयाँ दिने उल्लेख छ । त्यसैबमोजिम परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्णय गरेर सरकारलाई सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले भने निर्णय गरिसकेको छैन ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टीम र अफिसियलहरुलाई बधाई कार्यक्रमका लागि बालुवाटारमा बोलाएका छन् ।

यसअघि हिजो नेपाल क्रिकेट संघले राष्ट्रिय टीमलाई एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । क्यानको हिजो बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले हालै एसीसी यू-१९ प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएको युवा टीमका सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

युवा टीमलाई जनही तर राष्ट्रिय टिमलाई एकमुष्ट पुरस्कार रकम किन छुट्यायो क्यानले ? यो प्रश्न हामीले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सोध्यौं । उनले सहजताका लागि यस्तो निर्णय लिइएको बताए ।

‘कसरी बाँड्ने भनेर टीमले नै निर्णय लिन्छ । १५ सदस्यीय टीम, अतिरिक्त ३ खेलाडी, प्रशिक्षक, फिजियोसमेतलाई वितरण गर्ने गरी सो रकम उपलब्ध गराउने छौं ।’

क्यान स्रोतका अनुसार खेलाडीहरु एक जनाको भागमा साढे दुई लाख रुपैयाँ पर्न सक्छ । अफिसियलहरुलाई यसको आधा रकम वितरण हुने सम्भावना छ । जनही साढे दुई लाख घोषणा गर्दा थोरै देखिने भएकाले एकमुष्ट घोषणा गरिएको स्रोतले बतायो ।
क्यानले आफ्नै स्रोतबाट खेलाडीलाई पुरस्कृत गर्न लागेको हो । हालै भएको विश्वकप छनोट प्रतियोगितामा प्रायोजक र टिकट बिक्रीबाट क्यानले राम्रो आर्जन गरेको छ । स्रोतका अनुसार प्रायोजकबाट मात्रै एक करोड ६० लाख रुपैयाँ संकलन भएको प्रारम्भिक अनुमान छ ।

हिजोमात्रै अर्ना कम्पनीले क्रिकेट टीमलाई ४२ लाख रुपैयाँ पुरस्कार वितरण गरेको थियो । त्यसमध्ये १८ लाख ७७ हजार रुपैयाँ टीमलाई एकमुष्ट र २२ लाख ९९ हजार रुपैयाँ खेलाडीहरुलाई उनीहरुको प्रदर्शनका आधारमा प्रदान गरिएको हो ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com