काठमाडौं । घटनाको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटना सुल्झाएको छ ।

धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो । दुवैले अभियोग स्वीकार गरेका छन् ।

छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो । ८ कात्तिकमा हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए । ‘श्रीदेवीसँग धेरै सुन लगाउने उनीहरूले देखेका रहेछन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘सोही आधारमा उनीहरूले लुट्ने योजना बनाएको देखिन्छ ।’ श्रीदेवीका श्रीमान् भने विदेशमा थिए । गोर्ख श्रीदेवीका नाता पर्दछन् ।

गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेर बसेका थिए ।

प्रहरीले सोमबार नै गोर्खलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गोपाललाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गर्ने प्रहरी तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले स्थानीय प्रहरीसँग मिलेर अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com