काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए । नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार उनलाई चेकजाँचको लागि क्यान्सर अस्पताल लगेको हो ।

अस्पतालले भर्नै गर्नुपर्ने बताएपछि बिहीबार साँझ बेड भर्ना गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले जानकारी दिए । यसअघि प्रहरीले उनलाई वीर अस्पताल लगेर चेकजाँच गरेको थियो । प्रसाईंले पटक–पटक अस्पताल बस्न खोज्दा पनि चिकित्सकले नै बेड भर्ना हुन नपर्ने भनेपछि उनलाई हिरासतमै फर्काइएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाँदा पनि उनले आफू क्यान्सरको बिरामी रहेको र उपचारका लागि अस्पताल नै बस्नु पर्ने बताएका थिए । न्यायाधीशले म्याद थप गर्दै उनको स्वास्थ्योपचारमा ख्याल गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै क्यान्सरको बिरामी रहेकाले सोही अनुसारको उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश नै दिएपछि बिहीबार भने क्यान्सर अस्पताल नै लगिएको हो । प्रसाईंले प्रधाननमन्त्री केपी ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com