गोरखा । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको धार्चे गाउँपालिका-१ हुच्लचोकस्थित एक घरमा गए राति आगलागी हुँदा घरभित्र रहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका प्रनाउ श्रेष्ठले बताए ।

आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घरमा आगलागी भएको खबर थाहा पाउने बित्तिकै घटनास्थलमा पुगेर स्थानीयवासीले निभाउने प्रयास गरे पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ थियो । घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com