काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिका कारण गणतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरु भयभीत छन्। यता, राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत उनको गतिविधिबाट त्रस्त देखिएको छ।

कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलहरुको भयको कारण भनेको दल र व्यवस्थाप्रति जनतामा देखिएको वितृष्णाको लाभ राजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंले लिइदेलान् भन्ने हो। राप्रपाको चिन्ता भने अलिक फरक छ। उसको चिन्ता छ– आफूले लिन खोजेको यो वितृष्णाको लाभ प्रसाईंले त लिइदिने होइनन्? राजा ज्ञानेन्द्रले पनि प्रसाईंलाई नै पो विश्वास गरिदिने हुन् कि!

Advertisement
Advertisement

स्रोतका अनुसार यसैक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तिहार सुरुवात हुनुअघि राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेर उनका गतिविधिमा राप्रपाको पूर्ण साथ रहने विश्वास दिलाएका छन्, ताकि राजा ज्ञानेन्द्रको निकटता प्रसाईंसँग नबढोस्। राजाको ९ मंसिरको झापा भ्रमणको योजना बनाउने सिलसिलामा लिङ्देनले निर्मल निवास पुगेर उनीसँग भेटघाट गरेका हुन्। कार्यक्रम आयोजक विद्यालय व्यबस्थापन समिती भएपनि ९ गतेको कार्यक्रमको चाँजोपाँजो र राजा ज्ञानेन्द्रसँग लविङ राप्रपा अध्यक्ष लिङ्देनले गरेका हुन्।

दुर्गा प्रसाईंसँग राजेन्द्र लिङ्देनको रिस

राजेन्द्र लिङ्देन मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाईंले गर्ने कार्यक्रम बिथोल्न चाहेको कुरा स्वतन्त्र रुपमा राजसंस्थाको मुद्दा बोकेका राजावादीहरु बताउँछन्। निर्वाचनको समयमा दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष लिङ्देनको खुलेर सार्वजनिक रुमपा बिरोध गरेका थिए। त्यसको रिस दुर्गा प्रसाईंलाई फेर्न लिङ्देनले झापामा राजा ज्ञानेन्द्रलाई प्रयोग गरेको जस्तो देखिन्छ।

राजसंस्थाको एजेन्डा बोकेको पार्टी राप्रपा र स्वतन्त्र संगठन मार्फत राजसंस्थाकै एजेन्डा बोकेका दुर्गा प्रसाईँको ब्यक्तिगत आन्तरिक मनमुटावको चपेटामा भने राजा ज्ञानेन्द्र परेका छन्। यो कुरा राजा ज्ञानेन्द्रले समेत पत्तो पाउन सकेनन् अथवा लिन्देनको यो रणनीति बुझेर पनि ब्यवास्था गरे। तर मंसिर ९ गते राजा ज्ञानेन्द्र झापा जानेभएपछी काठमाडौंको कार्यक्रममा भने ठूलो नकारात्मक असर पर्ने देखिन्छ।

केपी ओलीको गुन तिर्ने लिङ्देनलाई शु-अवसर

गत निर्वाचनको समयमा राजेन्द्र लिङ्देन बिरुद्ध दुर्गा प्रसाईंले खुलेर अन्तर्वार्ता र चर्को भाषण दिए । त्यसको ठूलो असर राजेन्द्र लिङ्देनलाई पर्यो। जेनतेन केपी ओलीसँगको साँठगाँठको कारण राजेन्द्र लिङ्देन निर्वाचित त भए तर दुर्गा प्रसाईं प्रती लिङ्देन निकै रुष्ट छन्। केपी ओलीको गुन तिर्ने अवसर र दुर्गा प्रसाईंको झाँको झार्ने उपयुक्त समयको रुपमा राजेन्द्र लिङ्देनले प्रसाईंले आह्वान गरेको मंसिर ७ गतेको कार्यक्रमको पर्सिपल्ट झापामा पृथ्वीनारायण शाहको शालीक अनवरण कार्यक्रमको लागि राजासँग लविङ गरेका थिए।

यता, दुर्गा प्रसाईं समुह र एमाले बिच ठूलो टकराब छ। एमाले नेता महेश बस्नेत र दुर्गा प्रसाईंबिच वाकयुद्द नै चलेको छ। दुबै समुहले आन्दोलनको कार्यक्रम समेत माइतीघरमा एकैदिन तोकेका छन्। जहाँ ठूलो झडप र घुसपैठको सम्भावनापनि उतिकै छ।

दुर्गा प्रसाईंले पुर्वबाट समेत आन्दोलन गर्न काठमाडौंमा मान्छे उतार्ने भएपछी एमाले अध्यक्ष ओलीले दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्न प्रसाईंकै गृहजिल्ला झापामा कार्यक्रम तय गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई सुझाएका थिए। जसको फलस्वरूप राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती पुष २७ गते नजिकै भएपनि मंसिर ९ गते नै राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनाबरण गराउने जुक्ति निकालेका हुन्। जसको ठूलो असर दुर्गा प्रसाईले गर्ने भनेको मंसिर ७ गतेको कार्यक्रममा देखा पर्ने छ। झापा लगाएत पुर्वी क्षेत्रबाट आउने मानिस उतै रोकिनेछन् र राजा जाने कार्यक्रम भएपछी काठमाडौंबाट समेत ठूलो संख्यामा राजावादीहरु झापा पुग्ने देखिन्छ। यसरी निर्वाचनमा ओलीले लगाएको गुन राजेन्द्र लिङ्देनले अहिले तिर्नलागेको राजसंस्था पक्षधरहरु बताउँछन्।

प्रसाईंको नियत, भयभीत लिङ्देन
विभिन्न ब्याङ्कहरुबाट लिएको करौडौँ रुपियाँ प्रसाईंले तिर्न बाँकी छ। प्रसाईंको आन्दोलन त्यही ऋण र सरकारले मेडिकल कलेजको सम्बन्धन नदिएको झोंक हो। गत आम निर्वाचनमा एमालेको टिकट प्राप्त गर्न नसकेका उनी यतिबेला सबैभन्दा बढी एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन्।

प्रसाईं गत फागुनसम्म एमालेको केन्द्रीय सदस्य थिए। माओवादी छाडेर एमाले प्रवेश गर्दा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटको आश्वासन दिएका थिए। यही कारण उनी झापा–३ मा एमालेको टिकटका आकांक्षी थिए।

तर, जब कांग्रेस–माओवादी–एकीकृत समाजवादी सहितको गठबन्धन निर्माण भयो, तब झापाको हकमा राप्रपासँग गठबन्धन गर्नै पर्ने परिस्थितिमा एमाले अध्यक्ष ओली पुगे। झापामा बलियो स्थितिमा रहेको राप्रपासँग गठबन्धन नगरी चुनावी परिणाम आफ्नो पक्षमा पार्नसक्ने स्थितिमा एमाले थिएन।

त्यसैअनुरुप झापाका अन्य सिटमा एमाले उम्मेदवारहरुलाई राप्रपाले सघाउने भयो। झापा–३ भने राप्रपा अध्यक्ष लिङ्देनले एमालेको साथ पाउने भए। झापा–३ बाट एमाले–राप्रपाका उम्मेदवार अध्यक्ष लिङ्देन भएपछि निर्वाचन अवधिभर प्रसाईं निष्क्रिय भए, विदेश गएर समय बिताए।

निर्वाचनको केही समयपछि १ फागुन (२०७९) मा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउने भन्दै झापाबाट ‘महाअभियान’ घोषणा गरे। त्यसको उद्घाटन कार्यक्रममा राजा ज्ञानेन्द्र प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

यसले गर्दा राजाको साथ अब प्रसाईंलाई छ भन्ने सन्देश प्रवाहित हुन पुग्यो।

प्रसाईंको उदेश्य राजनीतिक दलहरुप्रतिको वितृष्णालाई उपयोग गर्ने र अराजकतामार्फत् ब्याङ्कलाई तर्साउने हो। आफ्नो व्यावसायिक स्वार्थका लागि यसअघि उनले पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीजस्ता नेताहरुलाई समेत प्रयोग गरिसकेका छन्।

ओली र प्रचण्डलाइ प्रसाईंले जसरी उपयोग गरे त्यसैगरी राजा ज्ञानेन्द्र प्रयोग नहोलान् भन्न सकिन्न। १ फागुनको कार्यक्रममा भीड बटुल्न उनले राजालाई प्रयोग गरेकै हुन्।

अझै पनि राजाको साथ प्रसाईंलाई नै छ भन्ने सन्देश प्रवाहित हुन पुग्यो भने त्यसको असर ठूला राजनीतिक दलहरुलाई मात्र होइन, राप्रपा र अध्यक्ष लिङ्देनलाई पनि पर्छ। किनकि दुवैको निर्वाचन क्षेत्र एउटै हो। राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेपछि लिङ्देन पनि दलीय व्यवस्थाकै पक्षधर हुन्।

जसरी रास्वपाको उदय अन्य ठूला दलसँगै राप्रपाका लागि पनि चुनौती बनेको थियो, प्रसाईंको उदयले समेत राप्रपालाई असर पार्छ नै। अझ बढी पार्छ। किनभने, उनले आफूलाई ‘राजावादी–हिन्दूवादी’ सिद्ध गर्न खोजेको छन्, जुन राप्रपाको एजेन्डा हो।
यस्तो बेला राजा ज्ञानेन्द्रले ९ मंसिरमा झापा जाने निधो दुई हप्ताअघि गरे। यसबारे उनका संवादसचिव फणिराज पाठकले शनिबार (२ मंसिर) मा विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। विर्तामोड नपा–१ स्थित ‘इस्टर्न एम्पाएर कलेज अफ म्यानेजमेन्ट’ ले आफ्नो परिसरमा स्थापना गरेको पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी झापा जान लागेका हुन्।

एकातिर ७ मंसिरमा काठमाडौँमा प्रसाईंको प्रदर्शन, अर्काेतिर त्यसको पर्सिपल्ट उनको गृहजिल्ला झापामा राजा जाने कार्यक्रम ! यसले राजसंस्था पक्षधर र राजा ज्ञानेन्द्रलाई समेत ठूलो असर गर्ने देखिन्छ।

झापामा राजालाई राप्रपाको साथ
त्यसो त, प्रसाईंका गतिविधि दल र व्यवस्थाविरुद्ध भएकाले राजावादी तप्काले उनलाई साथ दिएको छ। तर, राप्रपा नेताहरुका भनाइमा, ९ मंसिरमा हुने राजाको भ्रमणसँग प्रसाईंको अभियानको कुनै सम्बन्ध छैन। बरु, राजाको झापा जाने कार्यक्रम अध्यक्ष लिङ्देनसँगको सल्लाह बमोजिम भएको उनीहरुको दाबी छ।

राप्रपाका एक नेताका अनुसार, २३ कार्तिकमा अध्यक्ष लिङ्देनले गरेको भेटपछि पूर्वराजा झापा जाने कार्यक्रम तय भएको हो। १२ दिने अमेरिका भ्रमणबाट २२ कार्तिकमा फर्केका लिङ्देनले भोलिपल्ट (२३ कार्तिक) मा निर्मल निवास पुगेर पूर्वराजासँग भेटवार्ता गरेका थिए।

सो भेटवार्तालगत्तै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। बैठकमा उनले निर्मल निवासमा भएको भेटवार्ता र पूर्वराजाको झापा भ्रमणको कार्यक्रमबारे ब्रिफिङ गरे। बैठकमा पूर्वराजाको झापा भ्रमणलाई सफल बनाउन राप्रपाले आफ्नो स्रोत–साधन लगाउने निर्णय ग¥यो।

यही निर्णय बमोजिम मंसिर ९, १० र ११ का लागि तय भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस १, २ र ३ का लागि सारियो। यो निर्णयलगत्तै लिङ्देन २४ कार्तिकमा झापा पुगे, तिहार उतै मनाए। उनी अहिले पनि त्यहीँ बसेर पूर्वराजाको भ्रमणको तयारीमा लागिरहेका छन्।

‘झापाका सम्पूर्ण पालिका र नेता–कार्यकर्तालाई राजा (पूर्व) को कार्यक्रम सफल बनाउन उहाँले निर्देशन दिनुभएको छ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘राजाको भ्रमणको तयारीको कमान्ड पनि उहाँले नै सम्हाल्नु भएको छ।’

श्रेष्ठका भनाइमा राजा ज्ञानेन्द्र शाह पनि वैधानिक शक्तिलाई नै साथ लिएर अगाडि बढ्ने योजनामा देखिन्छन्।

‘यो दलीय व्यवस्था हो, दलीय व्यवस्थामा राजनीतिक दलहरुलाई नै विश्वास गरेर जानुपर्छ भन्ने राजाको सोच देखिन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यही कारण ९ मंसिरको कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण तयारीको कमान्ड अध्यक्ष लिङ्देन आफैँले सम्हाल्नु भएको हो।’

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com