काठमाडौँ ।  सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक एक गोल गरे । पहिलो र दोस्रो गोल  सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरेका थिए ।

प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी थिए।

सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिए ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताए ।

उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com